
यो वर्ष कतिजनाले स्टेट स्पोन्सरशिपमार्फत पीआर पाउने भएका छन् ?
गत वर्षजस्तै यस वर्ष पनि ४००० जनालाई न्यू साउथ वेल्सले स्पोन्सर गर्ने भएको छ।
यो कहिलेसम्म खुल्ला रहन्छ?
यो १२ महिना नै खुल्ला रहने छ। कुन महिनामा कुन कुन पेशाका कति कति जनालाई आमन्त्रण गर्ने भन्ने कुरा न्यू साउथ वेल्स सरकारको अधिनमा हुने भएकाले यति जनाले आवेदन दिएपछि बन्द गर्नुपर्ने भन्ने कुनै आवश्यकता छैन। यद्द्यपि न्यू साउथ वेल्सले चाहेमा यसलाई कुनै पनि समयमा रोक्न सक्नेछ।
यसको लागि योग्य हुन के -के मापदण्ड पूरा गर्नुपर्छ?
जनरल स्कील्ड माइग्रेशनअन्तर्गत पीआरको लागि आवेदन दिने व्यक्ति पचास वर्षभन्दा कम उमेरको हुनुपर्दछ। स्टेट स्पोन्सरसीपको लागि योग्य हुन आइएल्ट्समा हरेक ब्याण्डमा ६ वा अरू टेस्ट दिएको भए पनि यही बराबरको स्कोर ल्याएको हुनुपर्दछ। त्यस्तै स्कील असेसमेन्ट भएको हुनुपर्छ र ५५ पोइन्ट पहिल्यै पुगिसकेको हुनुपर्दछ। र, तपाईंको अकुपेशन स्टेटको लिस्टमा परेको हुनुपर्दछ।
यसको प्रक्रिया चाहिँ के हो नि?
सुरुमा स्कील सेलेक्टमा गएर एक्स्प्रेसन अफ इन्टरेस्ट दर्ता गर्नुपर्दछ। यसमा १९० भिसा र न्यू साउथ वेल्समा चिन्ह लगाउन भुल्नु हुँदैन। यसरी आएका आवेदनहरू मध्येबाट न्यू साउथ वेल्सले आवश्यक संख्यामा आवेदकहरू छानेर क्रमश: अरू थप कागजात पठाउनको लागि सम्पर्क गर्दछ। आवेदन शुल्क र आफ्ना सबै कागजात पठाएपछि उसले स्कील सेलेक्टमार्फत नै पीआरको लागि आवेदन हाल्न आमन्त्रण गर्दछ। यसको ६० दिनभित्र पीआरको लागि आवेदन दिइसक्नुपर्दछ।
अकाउन्टेन्टका लागि कम सीट छुट्याइएको छ रे भन्ने सुनेको छु, के यो साँचो हो?
कुन अकुपेशनको लागि कति सिट दिने भनेर बाहिर सार्वजनिक गरिएको छैन। तर, १८९ भिसाको लागि अकाउण्टेन्टको संख्यामा ठूलो कटौती गरिएको हुँदा न्यू साउथ वेल्सले पनि यस वर्ष थोरै संख्यामा मात्र अकाउण्टेन्टलाई आमन्त्रण गर्नसक्ने सम्भावना भने देखिन्छ।
म दुई हप्ता पछि मात्र २५ वर्ष पुग्दैछु। अहिले ५ पोइन्ट अपुग हुँदा नै पनि आवेदन दिन मिल्छ?
उमेरकै कारणमात्र ५ पोइन्ट पुगेको छैन भने एक्स्प्रेसन अफ इन्टरेस्ट दर्ता गरिराखे हुन्छ। तपाईं २५ वर्ष पुगेकै दिन तपाईंको ५ पोइन्ट स्वत: बढ्ने सिस्टम स्किल्सेलेक्टमा छ।
मैले गत वर्ष नै एक्स्प्रेशन अफ इन्टरेस्ट दर्ता गरेको थिएँ। त्यसमा मैले न्यू साउथ वेल्समा चिन्ह पनि लगाएको छु। के मैले फेरि एक्स्प्रेशन अफ इन्टरेस्ट दर्ता गर्नुपर्छ ?
पर्दैन। स्किलसेलेक्टमार्फत दर्ता गरेको एक्स्प्रेशन अफ इन्टरेस्ट दुई वर्षसम्म मान्य हुन्छ। यसबीचमा तपाईंले स्किलसेलेक्टमा दिएको जानकारीमध्ये कुनैमा परिवर्तन भएको छ भने त्यसलाई अद्यावधिक गर्न भने नछुटाउनुहोला।
मेरो १ हप्ता पछि नै टीआर सकिँदैछ। मलाई तपाईं के सल्लाह दिनुहुन्छ?
स्कील सेलेक्टमा एक्स्प्रेसन अफ इन्टरेस्ट दर्ता गर्दैमा ब्रिजिङ भिसा नमिल्ने भएकाले तपाईंले तुरुन्तै अर्को भिषाको लागि आवेदन दिनु उचित होला।
अनुभवीलाई प्राथमिकता दिइन्छ भन्ने सुनेको छु। केही महिनाको अनुभव देखाएर आवेदन दिँदा सम्भावना बढी हुन्छ भने त्यसै गरौँ कि?
तपाईंसँग अनुभव छ भने त्यो देखाउँदा राम्रै हुन्छ। तर प्राथमिकतमा पर्ने नाममा हुँदै नभएको अनुभव देखाउँदा भने यसको परिणाम नराम्रो हुनसक्छ।
म अकाउन्टेन्ट हुँँ। मेरो स्टेटले दिने पोइन्टबाहेक ५५ पोइन्टमात्र पुगेको छ। तपाईं मेरा लागि के सल्लाह दिनुहुन्छ?
चार हजार जनाको कोटा रहेकाले आशावादी हुने ठाउँ भने छ। तर यसमै पूर्ण आशावादी भएर बस्नु भने उपयुक्त नहुनसक्छ। अरू वैकल्पिक उपायहरू जस्तै, अंग्रेजीमा सुधारको प्रयत्न, आफ्नै क्षेत्रमा कामको खोजी, अंग्रेजी -नेपाली अनुवादकको परीक्षा आदिको प्रयत्न जारी राख्नु उपयुक्त होला। रिजनल स्पोन्सरशिपको लागि पनि आवेदन दिइराख्नु राम्रै हुन्छ।
मैले रिजनल स्पोन्सरशिपको लागि पनि आवेदन दिएको छु। कतै यही कारणले स्टेट स्पोन्सरशिप नपाउने भन्ने त हुँदैन?
हुँदैन। हाम्रा कतिपय ग्राहकले रिजनल स्पोन्सरशिपको लागि आवेदन गरिसकेपछि र केहीले त ४८९ भिषा स्वीक्रित भएपछि पनि स्टेट स्पोन्सरशिपमार्फत पीआर पाएका छन्।
विस्तृत जानकारी पाउन के गर्ने?
माइग्रेशनसम्बन्धी परामर्श दिने वकील वा रजिष्टर्ड माइग्रेशन एजेन्टले तपाईंलाई यसबारेमा विस्तृत जानकारी उपलब्ध गराउन सक्छन्। अद्यागमन विभाग र स्टेटको वेबसाइट पनि जानकारीका लागि राम्रा स्रोत हुन्।- नेपाली पत्रबाट
प्रतिक्रिया दिनुहोस्