
केहि हप्ता वा महिनादेखि भित्र-भित्रै भुसको आगोजस्तै सल्किएको एक्यानको चुनाव यतिबेला उत्कर्षमा पुगेको छ । चुनावी रौनकले सेपिएको सिए जगत आजको दिनसम्म आईपुग्दा सामाजिक संजाल र संचारमाध्यमको बाटो भएर बहिरी दुनियाँमै असरल्ल पोखिएको छ । चुनावको लागि अब केहि घण्टा मात्रै बाँकी छ । मैदानमा बिभिन्न स्वरुप र आकारमा प्रतिस्पर्धीहरु चुनाव लड्दैछन्। लामो समयदेखखि आन्तरिक खिचातानी र अदृश्य राजनितिको सिकार बनेर थिल्थिलिएको एक्यानको भूमिका र आगामी बाटोको बहस यतिबेला एउटा नयाँ मोडमा आएर उभिएको छ । उछालिएको बजार र नयाँ पुस्ताको ह्वात्तै बढेको आकर्षणले अब आउने नेत्तृत्वलाई ‘काम गर्ने उर्जा’ र ‘समयको बहाव पकड्ने चुनौती’ एकैचोटी पोल्टामा फाल्दैछ । नयाँ नेतृत्वको लागि बहस छेँडिदै गर्दा एक्यानसँग जोडिएका बिभिन्न अन्तर्वस्तुलाई एकपल्ट नजिकबाट पर्गेल्न जरुरी छ ।
नेपालमा सिएहरुको जमात सानो भए पनि एक्यानलाई हेर्ने चस्मा अलग अलग छ । बिभिन्न पुस्ता र सोचको धरातलमा टुक्रीएको बिचारलाई एक्यानले आफ्नो स्पष्ट स्वरुप दिन सकेको छैन । अझ प्रष्टसँग भन्नुपर्दा सबै सिएहरुलाई “एक्यान मेरो हो’ भन्ने अपनत्व बोध गराउन सकेको छैन । आरोप प्रत्यारोपको सजिलो खेलमा जुहारी खेलेर पन्छिएपनि नेतृत्वसँग प्रष्ट भिजन हुन नसक्नु र आन्तरिक मन्द राजनितिको अमिलो गन्धको प्रदुषण ह्वातै बढ्नु यसको मुख्य कारण हो ।
यसो भनिरहँदा बाहिर बसेर रमिता हेर्ने हामी सबै चोखो छौँ भन्ने पनि होईन । युवाहरुको नेतृत्वलाई सधै ‘केटाकेटीको गुली-डण्डासँग’ नापेर हेर्ने हाम्रो पुरानो पुस्ता र नेतृत्वलाई राजनितीको फोहोरी खेलका किडा सम्झने नयाँ ‘प्रोफेसनल’ भनिने पुस्ता त्यो भन्दा पनि धेरै जिम्बेवार छ । त्यसैले अव आउने नयाँ नेतृत्वको पहिलो भूमिका सबै सदस्यहरुलाई एक्यान प्रती अपनत्व बोध गराउने हुने छ । त्यसको लागी नयाँ शिराबाट सोच्न सक्ने नयाँ नेतृत्वको आवस्यकता छ ।
अर्कोतिर आईक्यान एउटा अदृश्य बिवसताको सिक्रीमा जेलिएको छ । कुनै पनि निर्णय ब्यबसायिक बिकास र गुणस्तरलाई केन्द्रमा राखेर सिएहरुले मात्रै आफै लिन सक्दैनन । आर ए हरुको सानो सँख्यामा भएको भारी उपस्थिति र आवस्यक समन्वयको अभावमा सिएहरुको भूमिका कतै गोलमोटोल भैरहेको छ ।
यस्तो अवस्थामा बजारमा चर्चामा रहेको आर्थीक बिकास र बिदेसी कम्पनिको नेपाल प्रवेशको बहसमा हामी कसरी बलियो गरी उत्रिन सकौंला ? सिएको भूमिका बलियो बनाउँदै युवाहरुलाई सबै सम्भावनाहरुको लागी तयार बनाउनु पर्ने बेलामा स्पष्ट सोँच र भिजनको अभावमा रुमल्लिएको हाम्रो ब्यबसाय कुन गतिमा अगाडी जाला? एजेण्डा हराएको चुनाव र भूमिका हराएको नेत्तृत्वबाट हामिले कती सम्म अपेक्षा गर्न सकौँला ? त्यसैले यी र यस्ता धेरै प्रश्नहरुको जवाफको लागी पनि एक्यानको भूमिका बलियो बनाउनु पर्छ । नयाँ पुस्ताको जोस र पुरानो पुस्ताको अनुभवलाई समेटेर हाम्रो ब्यबसायलाई अझ नयाँ दिशा दिन सक्नु पर्छ । नेपाली अर्थतन्त्र र बिश्व बजारलाई जोड्नको लागी सेतु बन्नु पर्छ ।
हामीसँग हाम्रो भवन छैन । भवन निर्माणको लागी सुरु भएको प्रयास कतै अड्किएर बसेको छ । हामीसँग पैसा जम्मा गर्न सक्ने सामर्थ्य नभएर होईन, स्पस्ट भिजन नभएर निरिह बनेका छौँ । हामी एक्यानलाई बहस, अध्ययन र अनुसन्धानको लागी खुल्ला पुस्तकालय बनाउन सक्छौँ । लेखन तथा खोजिमा दखल भएका युवा र अनुभवले खारिएका पुराना सिएहरुलाई प्रोत्साहन गर्दै एक्यानको एउटा ‘रिसर्च सेन्टर’ खडा गरेर बजारमा नयाँ बहस सुरु गर्न सक्छौँ । यसको साथै रिसर्च पेपर, नयाँ पुस्तकहरु सोही सेन्टरबाट प्रकासन गरेर एकाउण्ट र अडिट मात्रै होईन अर्थतन्त्रका बिभिन्न पाटोमा सिएलाई बहसको लागी तयार गर्न सक्छौँ ।
बिश्व बजारमा हाम्रो उपस्थिती कसरी खोज्न सकिन्छ ? यदी उपस्थिती नै भए पनि के हामी त्यसको लागी तयार छौँ? हाम्रो सानो बजारमा तिखारिएको अनुभवको हतियार हामिलाई कुरुक्षेत्रमा अर्जुन बनेर लड्नको लागी पर्याप्त छ ? के हाम्रा युवा सिएहरु छातिमा हात राखेर आफ्नो क्षमतामा गर्व गर्न योग्य छन ? यी तमाम प्रश्नहरुको जवाफ अब एक्यानले खोज्नु पर्छ र यिनै प्रश्न भित्र एक्यानको भूमिका पनि भेटिने छ ।
केहि समय पहिले एकजना पूर्व अर्थमन्त्री सिएहरुको ‘देश बनाउने भूमिकाको’ बहसमा ब्यङ्ग कँस्दै बोलेथे,” तपाईँहरु देशको चिन्ता छोड्दिनोस्, देशको चिन्ता हामी गर्छौँ । कमसेकम तपाईँहरु आफ्नो क्लाईन्टको हिसाव त सही रख्दिनोस ।” उनी अर्थमन्त्री हुँदा दिएको यो अभिब्यक्ती हाम्रो लागी ठूलो चुनौती थियो । ‘एक ब्यक्ती एक पेशा’ लागु गर्न नसकेर बेथितिको मुडकट्टा नाचिरहेको बजारमा हामी सिएले गरेको काम सबै ठिक छ भनेर पन्छिने स्थिती छैन ।
यदी बेलामा नै राम्रोसँग पर्गेल्न सकिएन र कुनै ठोस निर्णयमा अडिग हुन सकिएन भने हामी माथी ब्यङ्ग मात्रै होईन घृणा थोपरिने छ । यो कुरामा पनि एक्यानको भूमिका सबैभन्दा बढी अपेक्षा गरिने छ । एक्यानका उद्धेश्यहरु सुन्दर छन तर राजनितिक पार्टिको चुनावी घोषणा पत्र जस्तो अर्थहिन बनेका छन । हामीसँग आफू भित्रै सम्भावना र श्रोत छ, तर कस्तुरि जस्तै नाभिमा बिणा बोकेर भूमिका बिहिन कतै बरालिएका छौ ।
अन्तमा अव हामी सबै जिम्वेवार भएर सोच्नु पर्छ । हाम्रो प्रोफेसनको लागी । देशको भविश्यको लागी । हुन सक्छ अवको केहि घण्टा हाम्रो लागी कोशेढुङ्गा बनेर उभिएको छ ।
(लेखक आसन्न एक्यान चुनावमा कोषाध्यक्षका उमेद्वार हुन ।)
प्रतिक्रिया दिनुहोस्