
माअसोज ३ गते । नेपाली नागरिकका लागि हर्षको दिन । तर, विडम्बना ! यसरी एकातिर खुशीयाली मनाइरहँदा, सडक उल्लासका साथ नेपालको झन्डा फहराइरहँदा, दक्षिणी भू–भागमा ‘असोज ३ कालो दिन’ भनि भत्र्सना भैरहेको थियो ।
जुन ढंगले बिरोधका स्वर गुन्जिरहेका थिए, त्यसबाट देखिइरहेको गतिहीनता आज देखिएको समस्याको प्रक्षपण गर्न गाह्रो थिएन । सिमांकन र संविधानकै नाममा भएका टिकापुर लगायतका घटनाले यो परिवर्तनको ‘सेफ ल्याण्डिङ्ग’ सजिलो नभएको ठम्याउन राजनीतिको सामान्य ज्ञान भएको म जस्तालाई पनि गाह्रो थिएन !
त्यसपछि विकसित घटना क्रमले हाम्रो राजनीतिक नेतृत्वको तदारुकता, दुर्दसिता र निर्णय क्षमता माथि फेरि एकपटक गम्भीर प्रस्न चिन्ह खडा गरेको छ । जनताले आफ्नो अपनत्व भएको संविधान बनाउनु देशको समृद्धि र समुन्नतिको लागि अपरिहार्य थियो ।
राजनीति सिधा बाटोमा कहिल्यै हिड्दैन । सबैको आफ्नै स्वार्थ र चाहना हुन्छन् । सबैलाई सर्वमान्य संविधान बनाउन असम्भव प्रायः नै थियो ।
अधिकतम सहमति बनाएर सबै नेपालीको मर्म समेट्ने गरी ऐतिहासिक संविधान जारी हुनुपर्ने थियो । अझ जनताको माँझ गएर संविधानको मर्मको व्याख्या गर्न नसक्दा देश फेरि आज गहिरो संक्रमणको दलदलमा फसिरहेको छ ।
संविधान सहमतिमा आधारित गतिशिल दस्तावेज हो अनि संक्रमणकालिन राजनीतिको आधार नै सम्झौता हो । यही सन्देश लिएर नेताहरु जनताको घर घरमा पुग्ने र राज्यको नीति जनता समक्ष राखी राज्य जनताकै हो भन्ने आभास गराएर संविधान घोषणा गर्नु पर्ने थियो ।
तर, संख्याको आडमा विरोधका स्वरहरु नसुनी फास्ट ट्रयाकमार्फत जसरी संविधान जारी गरियो, त्यसको पहिलो गासमै ढुंगा पर्नु निश्चित प्रायः थियो । अहिलेको अवस्था हेरेर बरु संविधान नबनेकै ठिक थियो भन्ने आम स्वर गुन्जिन थालेको छ ।
संविधानप्रति असन्तुष्टि जनाउँदै जारी तराई मधेश आन्दोलनका मागहरु केही जायज होलान्, केहि नाजायज ! चुनावमा जनताबाट खेदिएका तराई केन्द्रित दलहरुलाई आफ्नो राजनीतिक करियर जोगाई राख्न संविधानको बिरोध गर्नु बाध्यात्मक थियो !
सामाजिक र राजनैतिक तहमा दोश्रो दर्जाका नागरिक सरह बनाइएका तराईबासीलाई सहि गलत छुट्याउने मौका नै नदिइ सस्तो नाराको भरमा आफ्नो अभिष्टका लागि होमाउन उनीहरुलाई गाह्रो परेन ।
२०६५/६६ तिर होलसेलमा नागरिकता दिनु, सरकार अढाउन निमेष भरमा बुँदे सहमति गर्नुले टुप्पो काटेर फेद जस्ताको तस्तै राख्ने परम्पराको निरन्तरता गरेकाले नै यो अवस्था सिर्जित भएको हो ।
भारतको भू–राजनीतिक स्वार्थमा उनीहरुले आफ्नो हिमयेती भेटे । सरकारले जतिसक्दो चाडो जनताको बीच गइ राज्यको प्रत्याभूति दिनुपर्नेमा ‘वेट एण्ड वाच’ नीति लिएर आन्दोलनलाई अझ चर्किने अवस्था सिर्जना गरिदियो ।
यो नाकाबन्दीको चर्को आर्थिक लागत त छदँै छ, त्यो भन्दा बढी यसले सिर्जित गरेको सामाजिक लागत बढी कहालिपूर्ण छ । समयमै सामाजिक सद्भावको कसरत नहुने हो भने यसको दुरगामी परिणाम भयावह हुन सक्छ ।
यो हर्डल त पार गरिएला तर आर्थिक विकास र समुन्नतिमा लाग्नुपर्ने बेला फेरि कुनै किसिमको सङ्क्रमणको फेला परियो भने त्यो जतिको दुर्भाग्यपुर्ण अरु केहि हुने छैन ।
विविधतालाई आत्मसात् गर्न र विविधतालाई विकासको जड बनाउन भारतमा भर्खरै मात्र लागु गरिएको ‘एक भारत, श्रेष्ठ भारत’ अभियान हाम्रो लागि पनि सापेक्ष हुन सक्छ ।
समस्याबाट पर भागेर समस्याको समाधान कहिलै निस्किदैन । समस्या घाउ नै हो । चाडै समाधान गर्न सकिएन भने यसले अर्को घाउ अवश्य निम्त्याउँछ ।
अहिलेको समस्या समाधान अपूर्ण ढङ्गले निकालियो भने यो समस्या फेरि बल्झिनेमा कुनै दुइ मत छैन । यो समस्यालाई एक चोटीको समस्या मानियो भने त्यो गम्भीर त्रुटी हुनेछ ।
अहिले समस्या समाधान गर्नु पर्नेले पनि आफ्नो राजनैतिक लेखाजोखा गर्नाले समाधानको प्रक्रिया अघि नबढेको मेरो बुझाइ छ । समाज यति ध्रुर्वीकृत भैसक्यो कि, अरुको माग प्रति लचकता देखाए आफ्नो भोट ‘व्याङ्क’ गुम्ने त्रास राजनैतिक नेतृत्वलाई छ ।
हरेक समस्याले मौका निम्त्याउँछ । यो समस्याको अधिकतम सहमतिबाट समाधान निकाल्ने हो भने हल्कर्ताको राजनैतिक भविष्य उज्जवल पक्कै हुन्छ । तर, त्यो ‘क्यालकुलेटिभ रिस्क’ लिन सक्ने हिम्मत अहिलेको राजनैतिक नेतृत्वमा देखिएको छैन ।
यो समस्या अहिलेको उजागर भएको हो तर यसको बिजारोपण धेरै पहिलेबाटै भएको हो । २०६५/६६ तिर होलसेलमा नागरिकता दिनु, सरकार अढाउन निमेष भरमा बुँदे सहमति गर्नुले टुप्पो काटेर फेद जस्ताको तस्तै राख्ने परम्पराको निरन्तरता गरेकाले नै यो अवस्था सिर्जित भएको हो ।
अनि यसमा तपाई हामी पनि उत्तिकै जिम्मेवार छौं, राजनीतिज्ञ भनौदाहरु जस्तै ! सामाजिक रूपमै तराईको मानिसलाई दोस्रो दर्जाको बनाउनमा हामी कम भागीदार छैनौं ! अन्त्यमा राजनीति भनेको समाजको दर्पण हो ।
मैले बुझेको राजनीति एउटा उद्देश्य हो, देश र जनताका निम्ति । तर, दुःखका साथ भन्नुपर्छ अहिले उद्देश्य भन्दा बढी व्यापार जस्तै बनेको छ राजनीति । हरेक जनताको नाडी छामेर सबैको आवाज प्रतिध्वनित हुने गरी देशलाई समृद्धि र समुन्नति तिर लानु पर्नेमा आफू र आफ्नोको खाडल भित्र परेर देशलाई एक सङ्क्रमणबाट अर्को संक्रमणमा लाने काम भैरहेको छ ।
धेरै खोज र अनुसन्धान पछि निकालिएको विश्व चर्चित किताब “why nations fail” मा लेखक भन्छन्, ‘जब सम्म राजनैतिक र सामाजिक संस्थानहरु बलियो हुदैनन्, जबसम्म राजनीति जनताको बीचबाट निस्कदैन तबसम्म प्रगतिको बाटो समात्न गाह्रो हुन्छ ।’ दुखद् कुरा हाम्रो राजनीति विगत ७० वर्षदेखि यसरी संक्रमणको भूमरीमा परेको छ र यसरी अस्थिरताले गाजिएको छ कि सुधारतर्फ कसैको ध्यान जानै सकेको छैन ।
‘येत्दापी गमस्यति !‘ यो समय पनि पार लाग्छ, तर समस्याको पारी पट्टी हामी कसरी प्रस्तुत हुन्छौ भन्ने कुरा महत्वपुर्ण हो । यो चुनौतीलाई अवसरमा बदल्न सके नेपालको समृद्ध भविष्यको कोसेढुंगा हामीले नै बसाल्ने छौं । यो समयबाट पाठ सिक्न सकेनौं भने हामी फेरि सपना बोकेका पूंजमा गनिने छौं ।
अब को बाटो के त ? के हामी सधैँ प्रगतिको सपना मात्रै देखिरहने हो त? निकास कहाँ छ? तेर्सिएका पेचिला प्रश्न धेरै छन् । मलाई लाग्छ उत्तर हामीसँगै छ । आफ्नो कमि कमजोरी आत्मसात् नगरी दोषको भारी अरु माथि बिसाइदिने हाम्रो बानी समस्याको कारक हो र समाधानको बाटो पनि त्यसैमा अडेको छ ।
हामीले देश प्रतिको अपनत्व कर्मद्वारा प्रस्तुत गर्न नसकेको यथार्थ हो । भविष्यको घामको बेवास्ता गरी आज जुनकिरीमा रमाउनु सायद हाम्रो गल्ति हो । सबैले बुझ्नुपर्ने कुरो देश हाम्रो एसको सफलता र असफलताको कारक र भागीदार दुवै हामी हौँ, कसैको तथास्तु को प्रतिछ्या गर्नु निरर्थक छ!
अंग्रेजीमा उखान छ ‘उत्कृष्टलाई सर्वोत्क्रिस्टको प्रतिद्वन्धि बनाउन हुँदैन’ हामी त्यही सर्वोत्क्रिस्टको पछि लगेर सानो कदम चाल्न डगमगाइ रहेका छौं । रोम एक दिनमा बनेको हैन भने जस्तै हामी आजको भोलि नै अन्धकारबाट उज्यालो तिर नजाउँलाद । तर, हामीले गर्ने राम्रो कर्मले हामीलाई अवश्य गन्तव्यसम्म पुर्याउने छन् ।
समुन्नतिको सपना देखेर कति पुस्ता अस्ताए । अस्ताएका पुस्तामा सामेल नहुन केही गर्ने कर्तव्य तपाई र मेरो हो । अण्डा बाहिरबाट फुट्दा ज्यान जान्छ, भित्रबाट फुट्दा नयाँ जीवनको सुरुआत हुन्छ । -साझा सवाल डटकमबाट
प्रतिक्रिया दिनुहोस्