Skip to content

देशको राजनीति सफल होस्, सिए विद्यार्थी गोविन्द पोख्रेलको विचार



हाम्रो देशमा यही वैशाख ३१  गते ऐतिहासिक नयाँ संविधान अनुसार स्थानीय निकाय चुनावको मिति तोकिसकेको छ र विभिन्न राजनैतिक दल र दलका नेताहरुको हठलाई व्यवस्थापन गर्दै नेपाली कांग्रेस लगायतका दलहरुको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष क. प्रचण्ड चुनावलाई सफल पार्न आतुर छन्।

कुन दल र दलको विचार राम्रो थियो त्यसका पनि कुन पात्र राम्रा थिए भन्ने विश्लेषण नेपाली जनताले पूर्ववत: चुनावमा आफ्नो मत जाहेर गरेर व्यक्त गरी दल र तिनका नेतालाई पाठ सिकाई सकेका छन् र आउने दिन हरुमा पनि जनताले आफ्नो उत्तम विवेकको उपयोग गरि आ-आफ्नो दल र नेतालाई निर्वाचित गराउने छन् त्यसको परिणाम तिर नलागौं।
हामी संग लामो राजनैतिक इतिहास छ, त्यसमा पनि २०४६ र त्यस पछिका ठुला-ठुला राजनैतिक परिवर्तनहरु आउने हाम्रा सन्ततिका लागि महत्वपूर्ण साबित हुन सक्छन्। २०४६ मा प्रमुखत नेपाली कांग्रेस र नेकपा एमालेले निरङ्कुश पंचायती व्यवस्था बिरुद्ध आवाज उठाए र त्यसैको फल स्वरूप  पहिलो जन-आन्दोलनबाट देशमा बहुदलीय प्रजातन्त्र आयो। त्यस क्रममा धेरै राम्रा कामहरु भए र तिनैको देनले आज हामी गणतन्त्र सम्म आईपुगेका छौ। तर हाम्रा दल र तीनका नेतृत्वले सबै जाति,भाषा, लिङ्ग आदीको मागलाई व्यवस्थापन गर्न नसक्दा देशले १० वर्ष द्वन्धको सामना गर्नुपर्यो।
देशको संविधान २०४७ आउदै गर्दा  संविधानले समेट्न नसकेका शक्तिहरु पछि गएर एकत्रित भए अनि जनताको संविधान जनताका प्रतिनिधीहरुबाट नै बनाउनु पर्छ भन्ने मुख्य उद्देश्य बोकी माओवादी पार्टीको जन्म भयो।
२०४६ साल पछि अधिकांश समय देशको सत्ता नेतृत्व नेपाली कांग्रेसले गर्यो  र त्यसका  गुण र दोषको भागीदार  नेपाली कांग्रेस हुनुपर्छ र त्यो भयो पनि। २०४६ साल पछि नै देशले आमुल रुपमा विकासको गति लिएको देखिन्छ र त्यस बखत खुला बजार नीती मार्फत देशको अर्थतन्त्र लैजानु पर्छ भनी नेपाली कांग्रेसले विभिन्न उधोग , शैक्षिक संस्था, बाटो-घाटो, अस्पतालहरुको निर्माण गरी जनताको सेवा गर्यो। त्यही बखत व्यवसाय सुरु गरेर नेपाली व्यवसायी घरानाले आफ्नो दक्षेता र परिश्रमको उच्च उदारहण प्रस्तुत गर्दै आफु र आफ्नो देशको नाम अन्तर्राष्ट्रीय स्तरमा चिनाउन सफल भैसकेका छन्।
२०५६ साल पछि देशको विकासले गति लिन सकेन, त्यसको मुख्य कारण माओवादी र सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस बीचको असमजदारी लगाएत विभिन्न सहांयक कारणहरु हुनसक्छन्। त्यसको व्यवस्थापन गर्न कुनै दलबाट जिम्मेवार ढंगले अग्रसर भएको देखिदैन।  बरु आ-आफ्नै हठलाई प्रमुखता दिएको देखिन्छ।
माओवादी द्वन्दमा हजारौं नेपाली सपुतहरुले आफ्नो बलिदानी (ज्ञात-अज्ञात रुपमा ) दिए  र त्यसबाट कसैलाई फाइदा नपुग्ने निष्कर्षमा नेपाली राजनैतिक दल फेरी एक ठाउँमा उभिए र राजतन्त्र विरुद्ध २०६२/२०६३ साल मा लडाई लडे, त्यसैको फलस्वरुप दोस्रो जन आन्दोलनबाट नेपालमा गणतन्त्रको स्थापना भयो साथै जनताको संविधान जनता कै प्रतिनिधिबाट लेख्ने अठोटका साथ सबै नेपाली राजनैतिक दल एक भएर लागे र देशमा शान्ति, राष्ट्रिय एकता र विकासको नारालाई स्थापित गरे।
२०६४ चैत्र २८ गते नेपालमा ऐतिहासिक पहिलो संविधान सभाको निर्वाचन सम्पन्न भयो। निर्वाचनमा माओवादी सबै भन्दा ठुलो दल बन्यो र नेपाली कांग्रेस, नेकपा एमाले क्रमस दोस्रो र तेस्रो दल बन्न पुगे। नेपालका राजनैतिक शक्तिहरुमा इमान्दारिताको कमी थियो, छ र पछि सम्म रहने छ। त्यसको फलस्वरूप स्व. गिरिजा प्रसाद कोइराला र प्रचण्ड बीच विश्वासको कमी भयो र राष्ट्रपति चुनाबमा माओवादीले आफ्नो हठ अंगाल्यो र एमालेको समर्थनमा सरकारको नेतृत्व गर्यो। पछि हठ कै कारणले सरकारबाट पनि सबभन्दा ठुलो दल बाहिरिनु पर्यो। त्यस पछि देशमा सरकार बनाउने र बिगार्ने खेल चलि नै रह्ययो र मूल उद्देश्यबाट दलहरु चुके र जनताका आशा र भरोसा पनि कमजोर बन्दै गए। अन्तत पहिलो संविधान सभा तत्कालीन प्र.म बाबुराम भट्टराईले विगठन गरी नयाँ जनादेशमा जाने उद्दघोष गरे।
चुनाव गराउन दलहरुको सरकार नभई गैर दलीय सरकार निर्माण गरी फेरी दल तिनका नेताहरु जनता सामु मत माग्न गए। देश र समाजका सबै भन्दा राम्रो म, हामी अरु सबै खराब भन्दै तर दल र तिनका नेताले कहिल्यै पनि महासुस गरेनन् कि यस अघिका चुनावमा पनि हामीले जनतालाई यो देशको विकास र निकास हामी नै दिन्छौ, तपाईहरु हामीलाई मत दिनुस। तर त्यही निकास र विकास दिने देशको कार्यकारी प्रमुखमा गैर राजनैतिक दलको व्यक्तिलाई प्रमुख बनाई आफ्नो असक्षमता जाहेर गरिसकेका थिए तर पनि देशमा चुनाव सम्पन्न भयो र दलले आ-आफ्नो कर्म आनुसारको जनादेश प्राप्ति गरे र पहिलेको ठुलो दल तेस्रो भयो र नेपाली कांग्रेस देशको सबै भन्दा ठुलो दल बन्न सफल भयो। 
निर्वाचित जनताका प्रतिनिधिहरु फेरि आफ्नो अपुरो कार्यभार सम्हाल्न प्रतिनधि सभामा आए र २०७२ श्रावण ३ गते देशले नयाँ संविधान पायो। संविधानले फेरि पनि सबै जनता र शक्तिलाई समेट्न सकेन र देशले अकल्पनीय दु:ख सहनु पर्यो र त्यो अझै व्यवस्थित हुन सकिरहेको छैन। बुझ्न के पर्छ भने संविधान भनेको अकाट्य र अपरिवर्तन्य हैन। समय अनुसार यसलाई परिमार्जित गर्दै देशका सबै जाति,भाषा ,वर्ग र लिङ्गहरुलाई समेट्दै लैजानु पर्दछ।
यहाँ आइपुग्दा अब फेरि पनि दल र तिनका नेताहरुको परीक्षाको समय आएको छ। यसलाई त्यसरी नै (जुन बेला २०४७ सालमा सबैलाई नसमेट्ने गल्ति गरियो त्यही अनुसार) जाने या असन्तुष्ट जनता र तिनका प्रतिनिधिलाई उचित व्यवस्थापन गरि देशको दिगो विकास र निकास तिर जाने? र जनता आशावादी छन् राजनैतिक दलका नेताले सुजभुजका साथ कसैले पनि गैर जिम्मेवारी पन नदेखाई आ-आफनो विवेक प्रयोग गरी जनता र देशलाई सर्वपरी ठानी यसको निकास दिनेछन र यहि कामको गुण र दोषको आधारमा जनताले अब आउने चुनावमा आफ्नो मत दिई दल र नेताको कामको विश्लेषण गर्ने छन्।
हामी आज २०७३ सालको उत्तरार्दमा छौ र २०७४ साल को स्वागत गर्दैछौ।  २०७४ भित्र नेपालले धेरै काम गर्नु पर्ने छ त्यस मध्यका निम्न कामहरु विशेष छन्
१. सबै तह र तप्का का असहमति र असमजदारीहरुलाई अधिकतम व्यवस्थापन गर्ने
२. सबै तहका चुनावलाई सम्पन्न गर्ने र
३. देशलाई दिर्घकालिन रुपमा विकासको बाटोमा लैजाने
हो, अब हामी यहाँ आइपुग्दा के बुज्न जरुरि छ भने राजनैतिक दल र तिनका नेताले आ-आफ्नो ठाउँबाट एक सबल राष्ट्र निर्माणको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। कसैले धेरै गरे होलान्, कसैले कम। हामी तराजुमा नराखौ र उल्लु नबनौ।
अब हाम्रो काधमा अविभारा आएको छ। आउने सन्ततिहरुलाई उज्जवल र विकसित देश सुम्पिने। त्यसका लागि जनताले अब आउने चुनावमा बिगतका गल्तीलाई सुधार्ने मौका दिदै अब आउने दिनमा कस्ले हामीलाई आर्थिक र सामाजिक सम्पन्नता दिन सक्छ, त्यसका आधारमा दल र नेता चुनौ। राजनैतिक नेताले पनि आफुले पाएको जनादेशको आधारमा आ-आफ्नो ठाउँबाट निरन्तर सहि मार्ग पदर्शन गरौ  र  समाजका विकृति र विसंगतिहरुलाई असल राजनीतिज्ञले सफा गर्दै एउटा सफल र सबल राष्ट्र निर्माण गरौं।
हामीले पाएको अधिकारलाई सहि उपयोग गर्दै देश प्रतिको कर्तव्य नभुली आउने चुनावमा आ-आफ्नो स्थानबाट सहयोग गरौ र देशलाई निकास र विकासको उज्ज्यालो तर्फ लैजाऊ।
गोविन्द पोख्रेल
गौरादह नगरपालीका , झापा 
हाल दिल्ली 

प्रतिक्रिया दिनुहोस्