बुधबार भारतमा झुन्ड्याइएर मारिएका याकुब मेनन को थिए र उनको काठमाडौं कनेक्सन के थियो ?
याकुब आफ्ना भाइ टाइगर मेननको रकमको व्यवस्थापन गर्थे। उनका भाइ आतंकवादको आरोपित हुन् जो अझै गुमनाम छन्। टाइगर मेननको रकमबाट १५ वर्षभन्दा कम उमेरका किशोरलाई सैनिक तालिमका लागि पाकिस्तान पुर्याउने गरेको आरोप लाग्दै आएको छ।
आतंकवाद र भारतविरोधी नाम दाउद इब्राहिमसँग टाइगरको सम्बन्ध रहेको र दाउद नै मुम्बई ब्लास्टमा संलग्न रहेको भारतीय दावी रहँदै आएको छ। सन् २००७ को जुलाइमा आतंकवादी तथा विध्वंसात्मक गतिविधि रोक्न बनाइएको कानुनकै सहारमा टाइगरलाई मृत्युदण्डको सजाय सुनाइएको थियो। भारतले अझै पनि टाइगर पाकिस्तानमा रहँदै आएको र दाउदसँगै भारतविरोधी गतिविधिमा सक्रिय रहेको बताउँदै आएको छ।
टाइगरका भाइ याकुव को हुन् त ?
मेनन समुदायमा चर्चित चार्टर्ड अकाउन्टेन्ट थिए उनी अर्थात् याकुब अब्दुल राजक मेनन। उनी मुम्बई सिरिज बम काण्डका सबैभन्दा हाइ – प्रोफाइल दोषी हुन्।
याकुब ६ दाजुभाइमध्ये तेस्रो सन्तान थिए। मेनन परिवारमा सबैभन्दा धेरै पढेलेखेका पनि। अंग्रेजी माध्यमको स्कुल पढेका उनले वाणिज्यशास्त्रमा स्नातक गरेका थिए भने सन् १९९० मा उनी चार्टर्ड अकाउन्टेन्ट भइसकेका थिए।
एक वर्षपछि उनले बाल सखा चेतन मेहतासँग मिलेर मेहता एन्ड मेनन एसोसियट्स स्थापना गरे। यसको एकै वर्षपछि मेननले वेग्लै फर्म खोले एआर एन्ड सन्नस। यो कम्पनी उनले आफ्ना पिताको स्मृतिमा खोलेका थिए। उनको कम्पनी यति सफल भयो कि मुम्बईमा मेनन समुदायबाट बेस्ट सीए अवार्ड पाउन सके।
व्यवसायतिर उनले आफूलाई फैलाउँदै लगे र तेजरथ इन्टरनेसनल कम्पनी स्थापना गरे जसले खाडी मुलुकहरुमा मासु र मासुका अन्य उत्पादन निर्यात थाल्यो। छोटो अवधिमै उनी व्यवसायमा यसरी सफल हुँदै गए कि उनले महिम दरगा नजिकै अल हुसैनमा उनले ६ फ्ल्याट किने।
मुम्बई ब्लास्टपछि उनीमाथिको पहिलो आरोप यही थियो कि दुबई र पाकिस्तानबाट भारत आउने टिकेटको व्यवस्था गर्नु। कन्सपिरेसीकै रुपमा रहेको यो आरोपअनुसार आक्रमणमा संलग्न रहेका ६ जनालाई उनैले विमानको टिकट उपलब्ध गराएका थिए।
याकुबको गिरफ्तारी र काठमाडौं कनेक्सन
मुम्बईमा धमाका हुनु दुई दिनअघि सन् १९९३ मार्च १० मा याकुब मेनन आफ्ना सबै परिवारसहित मुम्बईबाट भागेका थिए।
सन् १९९४ को जुलाइमा उनले आफ्नो परिवारको वकिलसँग काठमाडौंमा पटकपटक भेटेका थिए। भारतीय सुरक्षाकर्मीबीच आत्मसमर्पण गर्दा प्रशासनबाट दया होला कि भन्ने उनको अपेक्षा पूरा नहुने देखेपछि उनी पाकिस्तान जाने तयारीमा थिए। उनी कराँची जाने तयारी गर्दै थिए जहाँ उनी एक वर्ष नजरबन्द जीवन यापन गरेका थिए।
जुलाई २०१४ मै धेरैवटा पासपोर्टसहित काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनी समातिए। तर औपचारिक रुपमा उनको गरिफ्तारी ५ अगस्ट १९९४ मा भएको भनियो। उनको गिरफ्तारीबारे व्याख्या गर्दै प्रहरीले नयाँ दिल्ली रेल्बे स्टेसनबाट उनलाई पक्रिएको जनायो। भारतको सीबीआइले उनलाई नियन्त्रणमा लिएको थियो र उनी आफूमाथि दया हुनसक्ने अपेक्षमा थिए।
कठिन कानुनको बाटो
गिरफ्तारीपछ याकुले आफू निर्दोष रहेको र मुम्बई धमाकाबारे जानकारी नरहेको बताएका थिए। उनले पछि न्युजट्र्याकको अन्तर्वार्तामा धमाका र यसको कन्सिपिरेसीबारे पाकिस्तानमा पुगेपछिमात्रै थाहा पाएको उल्लेख गरेका छन्।
सन् २००७ को २७ जुलाईमा आतंकवादी तथा विध्वंशात्मक कार्य (नियन्त्रण) ऐन टाडा अदालत न्यायाधीश पी डी कोडेले उनलाई मृत्युदण्डको फैसला सुनाउ।
अदालतको सुनुवाईका क्रममा नरम र भावुक शैलीमा प्रस्तुत हुने मेननले एकपटक चिच्याएर भनेका थिए, ‘श्रीमान् यो मानिसलाई छाडिदिनुस जसलाई आफूले के गर्यो भन्नेसमेत थाहा छैन।’
आरोपहरु
उनीमाथि लागेका आरोपहरु यस्ता थिए :
· अपराधिक षड्यन्त्र
· कानुनविपरित आतंकवादी गतिविधिलाई सहयोग र प्रोत्साहन
· अवैध सम्पत्ती तथा हतियार र विस्फोटक पदार्थको ढुवानी
· जीवन लिनसक्ने विस्फोटक पदार्थ भण्डारण
फलो अप
सन् २०१३ को मार्च २१ मा सर्वोच्च अदालतले उनको मृत्युदण्डलाई सदर गर्दै आतंकवादी गतिविधिको मास्टरमाइन्ड नै रहेको ठहर्यायो।
सन् २०१४ मे २१ मा राष्ट्रपति प्रणव मुखर्जीले महाराष्ट्र सरकार र गृहमन्त्रालयको दावीअनुसार भएको फैसला यथावत रहने गरी उनको अपिल खारेज गरे। आज बिहानै उनलाई झुन्ड्याइयो।
(भारतीय अनलाइन फस्टपोस्टको नेपाली रुपान्तरण।-बिजमाण्डुबाट)
प्रतिक्रिया दिनुहोस्