Skip to content

धरहराबाट खसेर बाँचेकी प्रिती भन्छिन,” मलाई क्याप- टुको परिक्षाको चिन्ता छ

काठमाडौं—जेठी छोरी खुस्बु, कान्छी छोरी प्रीतिसहित मैयाँ बुढाथोकी गत शनिबार धरहराको चौथो तलाबाट पाँचौँ तलामा चढ्दै थिइन्। एक्कासि धरहरा जोडले हल्लिन थाल्यो। भूकम्प आएको भन्दै तीनै आमाछोरीले एकले अर्कालाई बेस्सरी समाते।

केही छिनको कम्पनपछि धरहरा गर्लम्मै ढल्यो। आमा मैया भत्किएको संरचनाभित्र थिचिइन्। जेठी छोरी खुस्बु ठूलो ढिस्काले पुरिइन्। रुँदै हारगुहार गरेपछि केही व्यक्ति र सुरक्षाकर्मीको टोलीले ढिस्को हटाउँदै उनलाई जीवितै निकाल्यो। उनै खुस्बुको तल बहिनी प्रीति पुरिएकी थिइन्। दुवैलाई उद्धार गरी नजिकैको वीर अस्पताल पुर्यारइयो।

पुरिएको ढिस्काभित्र केहीबेर थिचिएर उद्धार गरी वीर अस्पतालमै पुर्याबइएकी मैयाँलाई आफू बाँचे पनि छोरीहरुलाई केही भयो कि भनेर धेरै चिन्तित तुल्यायो। टाउकाबाट रगत बगिरहेको थियो। शरीरभरि चोटैचोट थियो तर अस्पतालबाट भागेर धरहरामा गएर छोरीहरुलाई खोज्न गइन्।

भौँतारिँदै धरहरातिर जान लागेकी उनले अस्पतालको अर्को कुनामा दुवै छोरीलाई देखेपछि सन्तोष लाग्यो। तीनै आमाछोरी त्यहीँ रुवाबासी गर्न थाले। धन्न बाँचियो भनी एकार्कालाई अङ्कमाल गरे। सबैको अनुहार र शरीरभरि माटो र रगत लत्पितिएको थियो ।

एक्कासि वीर अस्पतालमा बढेको भिड र पटक पटकको थप भूकम्पको धक्कापछि घाइते रहेको सो ठाउँमा ग्यासको पाइप फुटेर केही बेर हल्लीखल्ली मच्चियो। हल्लीखल्लीसँगै मैयाँले घिस्रिँदै वीर अस्पताल बाहिर आएर अर्को अस्पतालमा लैजान आग्रह गर्दै हारगुहार गरिन्।

घाइते अवस्थामा मैयाँले हारगुहार गरिरहेको देखेपछि एक युवक र वृद्धले उनलाई ट्याक्सी खोज्न सहयोग गरिदिए। सो ट्याक्सीले तीनै घाइतेलाई मीनभवनमा रहेको निजामती अस्पतालमा ल्याएर छाडिदियो। उनन्चास वर्षीया मैयाँको टाउकाको पछाडि भागमा ठूलो चोट लागेको छ, हातखुट्टा थिचिएर थिलोथिलो भएको छ। नेपाल बङ्गलादेश बैंककी कर्मचारीसमेत रहेकी २७ वर्षीया जेठी छोरी खुस्बुको कम्मरमा गहिरो चोट लाग्नाका साथै खुट्टामा खाल्डो पर्ने गरी मासु गएको छ।

सिए दोस्रो वर्षमा पढ्दै गरेकी २१ वर्षीया प्रीसतको छातीको करङ भाँचिएर ‘चेस्ट ट्युब’ हालिएको छ।

मैयाँ छोरीहरुलाई लिएर भद्रकालीमा लाखबत्ती बाल्ने र नयाँ सडकमा घुम्ने योजनासहित त्यस दिन त्यतातर्फ गएकी थिइन्। केही छिनको घुमघामपछि एक्कासि धरहरा चढ्ने योजना बनेको मैयाँले बताइन्।

भूकम्पपछि श्रीमती र छोरीबारे धेरैबेरसम्म फोन सम्पर्क र सूचना नआएपछि पद्कन्या क्याम्पस र कन्या स्कुलका शिक्षक चूडाबहादर बुढाथोकी चिन्तित बने। परिवारका सदस्यका रुपमा उनका दुई छोरी र एक श्रीमती मात्रै हुन्।

अपराह्न ४ बजेतिर जेठी छोरीको साथी रोशन श्रेष्ठबाट आफ्नो परिवारका बारे जानकारी पाएलगत्तै चूडाबहादुर अस्पताल पुगे। श्रीमती र छोरीहरुको धरहरा चढ्ने योजनाबारे कुनै जानकारी नपाउनु भएका उनी परिवार जीवितै पाउँदा केही राहत भए पनि सबै घाइते भएको अवस्थामा देख्दा चिन्तित तुल्याएको बताउँछन्।

भूकम्पपछि धरहरा ढल्दा धेरैको मृत्यु हुँदा पनि आफूहरु संजोगले बाँचेकामा मैयाँले खुसी व्यक्त गरिन्। आफू घाइते भएको भन्दा छोरीहरु घाइते भएको देख्दा बढी चिन्ता लागेको उनको भनाइ छ। सिए पढ्दै गरेकी प्रीति आफ्नो आउँदो जेठमा हुन लागेको दोस्रो वर्षको ‘क्याप २’को परीक्षाबारे चिन्ता लागेका बताउँछिन्। ‘परीक्षा नजिकिएकाले म कोठाबाट निस्कनै छाडेको थिएँ, त्यस दिन शनिबार परेकाले केही छिनका लागि मात्रै निस्किएको थिएँ। यस्तो हुन लेखेको रहेछ।’

प्रतिक्रिया दिनुहोस्