Skip to content

बरु ढुङ्गामा विश्वास गर्नु,मान्छेमा नगर्नु, सिए विद्यार्थी केपी उपाध्यायको लेख

प्रत्यक्ष कर पढाउने चर्चित गुरु एफसिए बिनोद गुप्ताको उक्ति हो यो। धार्मिक गुरु भन्दा मन्दिरका भगवानलाई ज्यादा बिश्वास गर्नु भन्ने सन्दर्भमा ब्यक्त भाव देशको शासनसत्ता र राजनीतिमा उत्तिकै लागू गर्न सकिन्छ।

महान दार्शनिक प्लेटोले भनेकै छन् कि यदि हामी राजनीतिमा सहभागी हुदैनौ भने अन्त्यमा तल्लो स्तरको नेतृत्वबाट शासित हुन्छौं। 

यस्ता गएगुज्रेका नेता भन्दै हामी आफ्नै भोटबाट चुनिएको नेतृत्वलाई गाली गर्छौं,दोष नेताको होइन हाम्रो हो,भोट दिएर जिताएको कसले? आजको मितिमा संविधानको प्रारम्भिक मस्यौदामा जनताले आफ्नो सुझाव दिइसकेको अबस्था छ,सुझावमध्ये महत्त्वपुर्ण प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्ने हो।छिमेकि देश भारतमा संसदीय प्रणाली भएता पनि नरेन्द्र मोदिलाई प्रधानमन्त्री प्रक्षेपण गर्दा जनताले आफ्नो प्रधानमन्त्री आफै रोजेको महसुस गरेका हुन।
नेपालमा पनि अहिलेकै ब्यबस्थामा सुशील कोइराला,प्रचन्ड/बाबुराम या माधबनेपाल कसैलाई प्रधानमन्त्री प्रक्षेपण गरेर चुनाव लडेको भए चुनावी परिणाम भिन्न हुन सक्थ्यो। जुनसुकै प्रणाली भएपनि निर्वाचित हुने नेता त यिनै होलान्।यिनको योग्यताको बारेमा संविधान मौन छ,पार्टीभित्रको आर्थिक पारदर्शिता बारे संविधान मौन छ किनकी अहिलेका पार्टिहरु ढुक्क छन् जुनसुकै प्रणाली होस् शासन त हाम्रै हातमा हुनेछ,न त दिल्लीमा जस्तो कुनै केजरिवाल आउनेबाला छ। 
संविधान बन्दैमा सबथोक होला ठान्नु उचित हुँदैन किनकी यस्तो नियत र परिपाटी बोकेका शक्तिहरु नै फेरि शासन गर्नेछन र यसलाई बदल्न मुस्किल छ।नेपालको ठूलो भोटबैंक पारम्परिक छ,बाजेले रोजेको पार्टी बाबुको,बाबुको रोजाइ नै छोराको।यस्तो भोट बैंक जबसम्म तोडिन्न तब सम्म नयाँ पिढीको पालो आउनेवाला छैन।

जनता यो कालखन्डमा आतुर छन् देशलाइ विकास र आर्थिक उन्नतिको बाटोमा अघि बढाउनको लागि।छिटोभन्दा छिटो जुन प्रणालीले अगाडी बढ्न मद्दत पुर्याउछ त्यही शासनप्रणालीको पक्षमा जनता उभिएका हुन्।

भिन्न परिस्थितीका वावजुद संसदीय ब्यबस्थाले देशलाई अघि बढाएको हुदो हो त नयाँ प्रयोगको चाहना कसैलाई हुने थिएन।स्वभाबिक हो एउटा औषधिले काम नगरे दोस्रो औषधिको प्रयोग चाहनुलाई अन्यथा मान्नु हुँदैन।चांडो असर देख्न डाक्टरले सुइ दिएझै प्रत्यक्ष निर्वाचित कार्यकारीले सुइको काम गर्छ कि भन्ने जनतालाई लागेको हुन सक्छ।बहुसंख्यक जनताले जतिसुकै चाहे पनि दुईतिहाइ मत बिना प्रत्यक्ष निर्वाचित कार्यकारीमा देश तब सम्म जाने छैन जब सम्म संसदीय प्रणाली पक्षधरले आफ्नो अडान छोड्ने छैनन्।मुख्य कुरा शासनसत्ता सम्हाल्नेको नियत हो।राम्रो नियत र कार्यक्षमता भएपनि अहिलेकै ब्यबस्थामा आशातित सफलता हासिल गर्न स्थायीत्त्वको खाचो पर्छ।
मिलिजुली सरकार बनेमा जुनसुकै प्रणाली होस् देशको भलो हुने छैन।प्रत्यक्ष निर्वाचित बढी उत्तरदायी कि अप्रत्यक्ष निर्वाचित भन्ने देख्न संविधानपछिको सरकार कुर्नैपर्ने हुन्छ।जसरी धार्मिक उपदेशहरुको गलत ब्याख्या गर्ने धर्मगुरु भन्दा ढुङ्गाले बनेका मन्दिरका भगवानलाई ज्यादा बिश्वास गर्न सकिन्छ त्यसरीनै प्रणाली आफैले परिवर्तन ल्याउने नभै त्यस स्थानमा पुग्ने ब्यक्तिको नियत र कार्यक्षमताले मुख्य भुमिका खेल्छ।अमेरिकी प्रत्यक्ष निर्वाचित रास्ट्रपतिय ब्यबस्थाबाट अभिप्रेरित बहुसंख्यकले के बुझ्न जरुरी छ भने त्यहाँको जस्तो सामाजिक परम्परा,आर्थिक अबस्था,भुगोल नेपालको छैन।
चर्चित हुँदैमा कुशल शासक बनिहाल्छ भन्ने पनि हुदैन।पश्चिम नेपाल भन्दा पुर्वी नेपालको जनसंख्या धेरै छ,त्यहाँ भोट पनि धेरै पर्छ,पुर्वमा चर्चितहुनेले जित्ने भो,अनि पश्चिम नेपालको प्रतिनिधित्व नहुने भो।प्रत्यक्ष निर्वाचित कार्यकारीका यस्ता अन्य पक्षहरु पनि छन् जसमा ध्यान दिइनुपर्ने हुन्छ।

मानिसको शरीर निश्चित प्रणालीले चलेको हुन्छ।के खाने? के नखाने? छुट्टाउने मानिस आफै हो,पानी पिए बाचिन्छ विष पिए मरिन्छ।अर्थात जनताको रोजाइ नै सर्बोपरी हो। 

देशको सफलता नेता र जनतामा भर पर्छ।न जापानमा राजतन्त्र हुनाले विकास रोकिएको छ,न बेलायतमा संविधान नहुनाले कानुनी ब्यबस्था।यो त शासनसत्ता सम्हाल्ने नेतागणको नियत,योग्यता अनि हामीजस्ता अधिकार मात्र नमागी देशप्रतिको कर्तव्य पनि निभाउने त्यहाँका जनताको परिणाम हो।प्रणालीले मात्र ठिक हुदो हो त देशमा प्रजातन्त्र आएकै थियो,लोकतन्त्र हुँदै गणतन्त्र आएकै थियो। 
संविधानले मात्र हुदो हो त विश्वको ठूलो संविधान भएको भारतमै पनि भ्रष्टाचार छ,सानो संविधान भएको अमेरिका विश्व महाशक्ती सावित भएकै छ।त्यसैले बरु ढुङ्गामा विस्वास गर्नुस् स्विजरल्यान्ड र सिङापुर बनाउछु भन्ने राजनितिक ठेकेदारहरुलाइ बिस्वास नगर्नुस भन्न खोजिएको हो।जय जनता ।।।

प्रतिक्रिया दिनुहोस्