Skip to content

सिए सरोकार समाचार प्रभाव : बैंकबाट ऋण लिन अडिट रिपोर्ट बनाइदिने बिज्ञापन रोकियो !

बैंकबाट ऋण लिन अडिट रिपोर्ट बनाइदिने भन्दै पत्रिकामा खुलेआम बिज्ञापन छापेर दलाली हुने गरेको तथ्य सिए सरोकारले सार्वजनिक गरेपछि उक्त बिज्ञापनदाताले पत्रिकामा बिज्ञापन छपाउने  छोडेका छन् । हरेक शोमबार प्रकाशित हुने उक्त पत्रिकाको पछिल्लो अंकमा भने उक्त विज्ञापन हटाइएको छ । सिए सरोकारमा समाचार आएपछि उक्त बिज्ञापन हटेको हो । उक्त बिज्ञापन पत्रिकामा निरन्तरजसो प्रकाशित भइरहेको थियो। 

यस्तो थियो  समाचार :
बैंकबाट ऋण लिन अडिट रिपोर्ट चाहियो ?  यसरी हुन्छ काठमाडौँमा खुलेआम दलाली !

काठमाडौंबाट प्रकाशित एक साप्ताहिकको वर्ष ६, अंक ३४, २०७२ फागुन २४ मा प्रकाशित विज्ञापन हो– यो । नेपालमा लेखा व्यवसायको नियम गर्न बनेको ऐन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३ को नियमअनुसार यो विज्ञापन नियमविपरीत हो । विज्ञापनको छैटौं बुँदामा ‘बैंक ऋणका लागि अडिट रिपोर्ट’ भनेर लेखिएको छ । 

उक्त विज्ञापनअनुसार बैंक ऋणका लागि अडिट रिपोर्ट बनाउनुपरे विज्ञापनमा दिइएको नम्बरमा सम्पर्क गर्नु भनिएको छ । उक्त विज्ञापनमा कर तथा लेखापरीक्षण सेवा भन्दै मोबाइल नम्बरसमेत प्रदान गरिएको छ । लेखापरीक्षणलाई लिएर यस्तो विज्ञापन गर्न निषेध गरिएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका एक सदस्य भन्छन्, ‘यस्तो विज्ञापन गर्नु सरार गलत हो । लेखापरीक्षणसम्बन्धी सेवा दिन्छौं वा बैंक ऋणका लागि अडिट रिपोर्ट बनाइदिन्छौं भनेर पत्रिकामै विज्ञापन गर्नु गलत हो ।’
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐनले स्पष्टसँग यस्तो गर्न नपाइने व्यवस्था गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाकै अर्का एक सदस्य भन्छन्, ‘बैंक ऋणका लागि अडिट रिपोर्ट बनाइदिन्छौं भन्नु नै गलत हो ।’ विज्ञापनमा भएको नम्बरमा  फोन गर्दा जीबी गोर्खाली नाम बताउने विज्ञापनदाताले आफूले परामर्शमात्र दिने दाबी गरेका छन् । बैंक ऋणका लागि ‘अडिट रिपोर्ट’ भनेर लेख्नुभएको छ नि ? भन्ने प्रश्नमा उनले भने, ‘हाम्रो काम भने अडिटरलाई भेट्टाइदिने हो ।’ 
उनले आफू दर्तावाला लेखापरीक्षक (आरए) वा चार्टर्ड एकाउन्टेन्ट (सीए) नभएको स्पष्ट पारेका छन् । नियमअनुसार अडिट रिपोर्ट बनाउन कुनै पनि संस्था र लेखापरीक्षकबीच मध्यस्थकर्ताको काम गर्न पाइँदैन । लामो समयदेखि लेखापरीक्षण गर्दै आएका एक सीए भन्छन्, ‘लेखापरीक्षण गर्न लेखा परीक्षक नियुक्त गर्न निश्चित प्रक्रिया छन् । यसरी कोही मध्यस्थकर्ता बनेर लेखापरीक्षक र कुनै संस्थाको काम गर्नु गलत हो ।’ नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐनबारेको प्रश्नमा विज्ञापनदाताले आफूलाई त्यसबारे थाहा नभएको बताएका छन् ।-

प्रतिक्रिया दिनुहोस्