उ एउटा युग थियो, जो सकियो अव। देशका लागि केहि गरौँ भन्ने भावना सहित नेपाल फर्केको छोरो। बेलायतमा नापुग्दो केहि थिएन, तर पनि देशको मायाले फर्कायो उनलाई। केहि फरक सोच। काठमाडौँको खाल्डोबाट बाहिर सम्भावना नदेख्नेहरुका लागि ऊ एउटा खास आदर्श पात्र थियो। ब्यापारका लागि दाङ पुगेको एउटा सपुत, देशलाई केहि गर्ने सोच बनाएर, देशका पूर्वाधारहरु मजबुत बनाउने सपनामा सिमेन्ट उद्योग चलाउने प्रयाश गर्दै थियो। मजाक गरिरहनु पर्ने स्वभाव, ब्यबसायको भिन्न सोच अनि जन्मभुमी प्रतिको माया, एउटा युग बदल्ने आँट बोकेर कर्मपथमा लम्किएको एउटा छोरो आज आफैं रहेन। साचै एउटा युगको अन्त्य भएको छ।
पत्याउनै गाह्रो सिए रुपेश गैह्रे बितेको आज १३ दिन भैसकेछ। एउटा युग ढलेको दर्दनाक १३औ दिन। बिहान एउटा संदेश आयो, एक्यानमा शोक सभाको कार्यक्रम छ। सुर्य अस्ताउंदै गर्दा बबरमहलको एउटा घरभित्रको सन्नाटा ! शोकसभाको एउटा औपचारिक कदम तर थुप्रै अनौपचारिक यादहरु। सबैलाई रुवाएर अस्ताए रुपेश, कहिले पनि फेरि नउदाउने गरी। सभालाई सम्बोधन गर्दै एक्यानका अध्यक्ष भरत रिजालले स्व : गैह्रे संगका पलहरु सम्झिरहंदा कता कता यो मन मात्र होइन देश दुख्दै थियो। एउटा युगिन घडीको समाप्ति गर्यो एउटा पीडादायी दुर्घटनाले। हांसीमजाक गरिरहने उनको स्वभावको चर्चा भईरहंदा आज हामी बीच छैनन् उनी। अनि बाहिर नदेखाएर के गर्नु कसले बुझेको छैन र उनको अभावमा भक्कानिएका मनहरु रोहिरहेछन्। फगत नदेखाउने प्रयासमा समकालीन सिएहरु।
सिए गैह्रेका निकट मित्र विष्णु प्रसाद भण्डारी जो बोल्दै थिए, ” अहँ मैले पत्याएकै थिईन। तर जव समाचार सहि रहेछ भन्ने थाहा भयो, थाहा छैन त्यो रात कसरि बित्यो। सायद जीवनको सबै भन्दा पीडादायी क्षण थियो त्यो। आज कता कता त्यो खबर सहि होइन जस्तो लाग्छ। उहाँ यतै हुनुहुन्छ जस्तो लाग्छ। ” हो, उनी संगै धेरैलाई यस्तै लाग्दो हो तर तीतो सत्य उनी हामी बीच छैनन्। उनका मित्र विष्णु भण्डारीलाई जस्तै थुप्रै आफन्तहरुलाई तीतो बेदना भित्रको मीठा पलहरुलाई चांङ लगाएर गए उनी । थाहा छैन अब कति रात दर्द हुनेछ उनकै यादमा। उनकै सम्झनामा !
उनका अर्का मित्र सुजन काफ्लेले सिए गैह्रे संगका पलहरु साट्दै भने, “देशका लागि केहि गरौँ भन्ने भावना थियो सिए गैह्रेसंग।” खासमा एक देशभक्त थिए उनी। ब्यापारका थुप्रै नयाँ सोच बनाएर नेपाल फर्केका थिए। महेश शर्मा ढकालले उस्तै कहानी सुनाए। सुखद् भेट देखि दुखद् बिछोड सम्मका मन छुने यात्रा सस्मरण ! तर सबै अब एउटा कथा भईसक्यो जो नभईदिएको भए बेश हुन्थ्यो। र त आज तिनै पलहरु भित्र उनको सम्झना खोज्नुको बिकल्प छैन विष्णु भण्डारी, सुजन काफ्ले वा महेश शर्मा ढकालसंग। संगै हामी संग पनि !
आज समाचार कक्षमा बसेर किबोर्डमा औंला नचाउदै गर्दा यो लेखक सोचिरहेछ, एउटा दुर्घटनालाई प्रयोग गरेर किन यति छिट्टै हामीलाई उनीबाट टाढा बनाईयो ? एउटा छोरो मात्रै नपुगेर उनका बाबु आमा सहित यो संसारबाट उठाउँदै, यो समाजकि एउटी अबोध छोरीलाई टुहुरो बनाएर आखिर किन दैबले पीडादायी पलहरु रचिरहेछ ! थाहा छैन पूर्वाधार बलियो बनाउने सपना बोकेर सिमेन्ट उद्योग खोलेको छोरोलाई आज कमजोर बनाएर किन दैबले खोस्यो हामीसंग ! र त समबेदना दिनु वा शोक मनाउनुको विकल्प छैन हामीसंग।
नाम रुपेश गैह्रे। सन् १९७४ सालमा जन्मिएको एउटा सपुत ! १९९२ सालमा पायोनियर इंगलिस स्कुलबाट एसएलसी दिएका उनले १९९५ सालमा आईएससी पूरा गरेका थिए। १९९८ सालमा बी.कम पास गरेर सन् १९९९ मा सिए पढ्न भारत हानिएका थिए उनी । सन् २००२ सालमा देशका लागि सक्षम जनशक्ति बनेर मुलुक छिरेका उनी सन् २००६ देखि सन् २०१२ सम्म बेलायतमै बसे। कति विदेश बस्ने ? देशका लागि केहि गरौँ भनेर सन् २०१३ सालमा दाङमा सिमेन्ट उद्योग खोल्नका लागि लाइसेन्स लिए , जग्गा किने, आबश्यक अरु सबै थोक गरे। तर स्वोर्गद्वारी दर्शन गर्ने आफ्ना अभिभावकको रहर पूरा गरेर घर फर्कंदै गरेको छोरोलाई बीच बाटोबाटै दैबले अपहरण गर्यो, एउटा दुर्घटनालाई निहु बनाएर। अनि सबै हामीलाई रुवाउउंदै ऊ हामीसंग बिदा भयो। कहिले पनि नभेट्ने गरी, कहिले पनि नफर्किने गरी।
आज हामी संग छ त फगत उनका सम्झनाहरु। आज यो लेखक सम्झन्छ त्यो साँझ, एक्यानले आयोजना गरेको नयाँ बर्ष २०७२ सालको शुभकामना आदान प्रदान गर्ने कार्यक्रममा कसैले उनलाई मसंग परिचय गराएको थियो। त्यो भिडमा न त उनको परिचयको खास ख्याल भयो , न त चिनाउनेलाई नै सम्झियो, थुप्रैसंग ‘हाई हल्लो’ गर्दै जाँदा उनीसंग पनि हात मिल्यो। के थाहा मलाई त्यो पहिलो मात्र होइन अन्तिम भेट थियो उनीसंगको। आज एक पलका लागि भेटेको मान्छेको बिछोडमा यो लेखक यति बिरक्तिएको छ भने संगै कयौं पलहरु हाँसखेल गर्ने भरत रिजाल, विष्णु प्रसाद भण्डारी , सुजन काफ्ले , वा महेश शर्मा लगायतकालाई कस्तो भएको होला !
आज एउटा युग सकिएको छ। अस्ताएका रुपेशसंगै एउटा युग पनि अस्ताएको छ। फगत कागजको पानामा उनको आत्माले शान्ति पाओस् बाहेक भन्ने सब्द छैन हामीसंग, मसंग ! र पनि सत्य तीतो छ, उनी अव परलोक गईसके। उनको आत्माले शान्ति पाओस! हार्दिक श्रादान्जली !
– सुरज प्याकुरेल (प्रधान सम्पादक, सिए सरोकार )
प्रतिक्रिया दिनुहोस्