Skip to content

एक वर्षको ‘रिआर्टिकलशिप’ र मैले देखेको त्यसको बैकल्पिक बाटो, तीर्थराज अर्यालको लेख

हाम्रो सिएको क्षेत्रमा ६ महिना, एक वर्ष भनेको सानो समय होइन, यसले पछी आउने हजारौं अवसरहरुलाई मार पार्ने गर्छ । बाहिर अध्ययन गर्ने सिए विद्यार्थीहरु ‘डम्मी’ गरेर पढ्छन अनी यहाँ आएर काम गरेको, नेपाली बस्तुस्थितीसँग भिजेको, बुझेकोहरुसँग समान अवसर लिन खोज्छन भनी जुन एक वर्ष ‘रिआर्टिकलशिप’को प्रावधान लागु गरिएको छ , त्यो स्वयंम् ‘डम्मी’ प्रथाको प्रोत्साहन हो भन्ने कुरा आईक्यान  र मातहतका संस्था तथा व्यक्तिहरुलाई राम्रैसँग अवगत छ ।

हुनत यो बिषय मैले यहाँ उठाउदैमा भोग्नुपर्ने समस्या तत्कालै सुल्झिने त होइन तर विना अध्ययन , विस्लेषण र खोजको आधारमा ल्याइएको यस बिषयमा सम्बन्धित निकायले एकपटक विचार बिमर्श गरोस् भनी  पिडादायक तर ओझेलिदै गरेको बिषयलाई यहाँ उठाउन चाहे ।  

नहुनुभन्दा कानो मामा निको भनिन्छ नि , त्यसरी नै लगाइसकेको प्रावधानलाई पूर्ण रुपमा खारेजै गर्न त म जोड दिन चाहन्न , तर बैकल्पिक बाटोको रुपमा केही कुराहरु प्रस्तुत गर्न खोजेको छु । आईक्यानले केही समय अगाडि ल्याएको १ वर्ष ‘रिआर्टीकलशिप’ अवधारणाले विदेशमा रहेर सिए अध्ययन गरीरहेका म जस्तै दशौँ हजार विध्यार्थीहरुमा थोरै रिस र धेरै चिन्ता देखिन्छ । धेरै साथीहरु अनबिज्ञ हुनुहोला , फेब्रुअरी २०१४ मा उक्त निर्णयलाई परिमार्जन गरीपाउं भन्ने आग्रह सहित डेलिगेसन् टिम पनि आईक्यान र यस सम्बद्ध निकायहरुसँग छलफलको लागि पठाइयो । सिमित व्यक्तिगत स्वार्थ र ‘इगो’ को कारणले गर्दा वार्ता समझदारिको बिन्दुमा पुग्न सकेन, बरु उताबाट अझै आवेगका साथ उक्त अबधारणालाई तत्कालै लागु हुनेगरी घोषणा गरियो । 

यदि हामी सच्चिकै सिए पेशालाई समृद्ध, प्रोफेसनल  र दिगो बनाउन चाहन्छौ भने सानोतिनो ‘इगो’ लाई त्यागेर अगाडि  बढ्नुपर्ने हुन्छ । त्यसैले, एक बर्षको ‘रिआर्टिकलशिप’को सट्टामा GMCS जस्तै एक महिना वा ४५ दिनअधिकतम दुई महिनाको प्रोफेसनल तालिमको ब्यबस्था गरौ, जहाँ सिए उत्तिर्ण गर्ने सम्पूर्णलाई उपस्थित गराऔ, जेजे कुराहरु एउटा सिए बनिसकेको व्यक्तीले जान्नु, सिक्नुपर्ने हुन, जानकारहरुको समूह बनाएर पाठ्यक्रम  निर्धारणा गरौ, सिनियर सिएहरुबाट तालिम प्रदान गरौ । 


विभिन्न कम्पनी तथा उद्योग कलकारखानाहरुमा प्रयोगको लागि व्यवस्था मिलाऔ । मलाई लाग्दैनकि तीन बर्ष ‘आर्टिकलशिप’ गरिसकेको व्यक्तिलाई  ति कुराहरु सिक्न धेरै समय लाग्ला भनेर । यसरी जाँदा सिए पेसामा नयाँ ‘प्रोफेसनिलिजमको पनि विकास हुने, कसैलाई मार पनि नपर्ने, अनि मुख्यत: चाहेको जस्तै दक्ष सिए उत्पादन हुने । जसले गर्दा सिए पेसाकै गरिमा बढ्ने निश्चितप्राय: छ । हाम्रो पेसामा कार्यगत एकता, नितिगत एकरुपता, र समझदारीको भाव झल्कने कुरा पनि स्पश्ट देख्न सकिन्छ ।  

होइन, ‘आर्टिकलशिप’ नै गराउने हो, यतिकै नेपाली सिए क्षेत्रमा समान मान्यता दिइन्न भन्ने चाहना आईक्यानको हो भनेपनि कृपया समयावधि छोटो बनाऔ । २- ४ महिना राखौ ।  जीवनको ५ – ७ बर्ष लगातर खर्चेर, ३ बर्षको निरन्तर आर्टिकलशिप गरेको मान्छेले जेन तेन सिए पास गरेर केही ठुलो फलको आश गर्दै गर्दा, अनी घर-परिवारको जिम्मेबारी काधमा लिने बेलामा ८००० को स्टाइपेन्ड र १-२ महिनामा सिकिने कामको लागि महत्वपूर्ण १ बर्ष खर्चिनु हेर्दा सामान्य लाग्ला, तर उसको लागि यो ठुलो नोक्सान मात्र हो । फलस्वरुप पुन: डम्मिको प्रथामा थप प्रोत्शाहन मिल्न जाने निश्चित छ । म आँफै पनि यो कुरामा पक्का छैन कि गर्छुकि गर्दिन भनेर । त्यसैले यो ब्यबस्था हाम्रो लागि सरासर अन्याय हो । आईक्यानले पुनर्विचार गर्नैपर्छ ।  

अर्को कुरा , भारतमा सिए पढ्नेहरु ‘डम्गमी’ गर्छन् भनेर सामान्यिकरण गर्नु सरासर गलत हो । कारणबस् १०० जनामा कुनै एक जनाले डम्मि गर्‍यो भन्दैमा ९९ जनालाई सजाय दिनु अन्याय हो ।  नेपाल र भारतको सिएको पाठ्यक्रम मिल्दो छ , ब्यबसायिक कानुन अनि काम गर्ने बातावरण पनि मिल्दो छ । 


आईक्यानले आफु अन्तर्गतको विद्यार्थीलाई अन्तरराष्ट्रिय मान्यता प्रदान गर्ने गरी कोर्स परिमार्जन चाँही नगर्ने , अनि बल्लतल्ल घर परिवार र समाज   त्यागेर , संघर्ष गर्दै हाशिल गरेको ज्ञान, जसलाई १२० + देशहरुले मान्यता प्रदान गरेको छ , त्यसलाई अस्विकार गर्ने ! कस्तो अन्याय यो ? कुनचाँही त्यस्तो फरक अवधारणा छ नेपालको लेखा परीक्षण र वित्तीय क्षेत्रमा ? झापाको एउटा केटो काठमाडौं गएर एसएलसी पढ्यो भन्दैमा त्यसलाई झापामा उच्च शिक्षा हासिल गर्न फेरी झापाबाट एसएलसी पास गर भन्नु कत्तिको बुद्धिमत्ता पूर्ण हुन्छ , आँफै बिचार  गरौ । त्यसमाथि हामी बाहिर पढ्नेहरु नेपाल फर्किसकेर काम गर्नको लागि कर अनि व्यावसायिक कानुनको परीक्षा त दिने गरेकै छ , त्यसमा कहिले असहमती पनि छैन किनकी हामी पनि त्यसलाई जरुरी ठानेका छौ ।

नेपाल बोर्डको सिए  साथीहरु , अन्यथा नलिनुहोस कोहि एकजना नेपाली साथी बाहिरबाट सिए उत्तिर्ण गरेर नेपाल फर्केको छ भनेर ।  विश्वास गर्नुहोस् , देशको लागि केही गर्छु भनेर लाखौंको प्याकेज छोडेर , सुनौलो अवसरहरुलाई लत्याएर , आफ्नै माटोमा, आफ्नै दाजु-भाई दिदी-बहिनीहरुको  लागि केही गर्ने अठोटको साथ फर्केको छ ऊ । पैसा कमाउला , पेसाको नाजायज फाईदा उठाउला , बेइज्यती गरुला , मोजमस्ती गरुँला भनेर होइन । आईक्यानलाई यो प्रावधान खारेज गरेर बैकल्पिक बाटोमा लाग्न तपाईंहरु पनि सुझाउनुहोस् ।

सिए भनेको वित्तीय सेवा , कर प्रणाली  र लेखा परीक्षणमा मात्र सिमित नभएर आर्थिक बिकासमा टेवा पुर्याउने गरी, रोजगारिका अवसर सिर्जना गर्न, आफ्नो जीवनकालमा सिकेका, भोगेका अनुभवहरुलाई व्यवहारमा उतार्ने मानव सम्साधन हो । मैले आफ्नो भोगाइ , अनुभव र सिकाइको आधारमा आजकाल युवा साथीहरुलाई एकदमै जोड दिएर भन्ने गरेको कुरा के भने, “शिक्षा नै समाजको सभ्यता संस्कृति , मुल्य मान्यताहरुलाई जोगाइराख्न र समग्र समाजअको आर्थिक र सामाजिक समुन्नती प्राप्त गर्ने मुल आधार हो । अबको हुर्कदै गरेको हाम्रो जेनेरेसनले कम्तिमा १० – १०० जनासम्म लाई उचित शिक्षाको प्रबन्ध गर्दै त्यत्तिकै मात्रामा रोजगारिका अवसर प्रदान गर्न सक्षम हुनुपर्छ , अनिमात्र हामीले चाहेको सुन्दर र सभ्य समाजको परिकल्पना साकार हुनेछ ।”

फेरि पनि मूल बिषयमा प्रवेश गरौ , त्यही सुन्दर समाजअको परिकल्पनासंगै केही हासिल गर्न सिए कोर्सलाई अंगालेर दिल्ली लगायत अन्य शहर र देशमा गएका नेपाली युवाहरुलाई एक वर्ष ‘रिआर्टिकलशिप’को प्रावधानरुपी भार थापाउदा उनीहरुमाथि आईक्यानले सौतेनी व्यबहार पो राख्ने गरेको छ कि भनेर शंका पैदा भैरहेको छ यतिबेला ।

म आफुले बुझेसम्म र साथीहरु तथा अग्रजहरु सँगको लामो अन्तर्कृयापछी यसबारेमा बिकल्प खोज्नुपर्ने आवश्यकता देखेर यहाँ प्रश्तुत भएको हुँ । जहासम्म मलाई लाग्छ, यि माथि उल्लेखित बिकल्प समग्र सिए पेसा व्यबसायीको हितमा हुनेछन्। हाम्रो  आईक्यान , समग्र नेपाली सिएहरुको छाता संस्था , देशको लेखा परीक्षण पेसालाई सम्रिद्ध , सफल र युनिक पेसाको रुपमा चिनाउंदै आर्थिक बिकासमा महत्वपूर्ण योगदान गर्दै आएको संस्था हो । 


त्यसैले मलाई विश्वास छ, आईक्यानको नयाँ काउन्सिलले कुनै व्यक्तिगत र सामुहिक स्वार्थमा नफसेर, यी कुराहरुलाई सजिलै ब्यबस्थापन गरी अघि बढ्नेछ । नेपालमा बस्ने हाम्रो नेपाल बोर्डको सिए साथीहरु, अग्रज ‘रजिस्टर्ड लेखा परीक्षक’हरु पनि देशको समग्र विकास , सिए पेसाको समृद्ध र समुन्नतीलाई प्राथमिकता दिने प्रयास गर्नुहोला । ‘रजिस्टर्ड लेखा परीक्षक’हरु पनि नयाँ जेनेरेसनसँग समयानुकुल सहजतापुर्वक सहकार्यमा जुट्नुहोला  भन्ने आग्रह गर्न चाहन्छु ।      
             
तीर्थराज अर्याल
सि ए फाईनल , (हाल दिल्ली)  
ईमेल: [email protected]

प्रतिक्रिया दिनुहोस्