आइक्यान र एनकासाबीच सहमति, क्याप टुका विद्यार्थी भने असन्तुष्ट !



काठमाडौँ । आन्दोलनरत सिए विद्यार्थी संगठन (एनकासा) र चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)बीच सहमति भएको छ । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थी र आईक्यानबीच शनिबार सहमति भएको हो ।

आईक्यान र एनकासाबीच भएको सहमतिअनुसार डिसेम्बर २०२४ देखि लागू हुनेगरि चार्टर्ड एकाउन्टेन्ट्सी अन्तिम तह ‘क्याप थ्रि’को परीक्षा सञ्चालन गर्दा प्रत्येक विषयको परीक्षाको बीचमा एक दिन बिदा दिने र मध्यम तह ‘क्याप टू’ को परीक्षा सञ्चालन गर्दा दुई समूहको परीक्षाको बीचमा एक दिन बिदा दिने र सो तहको परीक्षाको हकमा प्रत्येक विषयको परीक्षाको बीचमा एक दिन बिदा दिने सम्बन्धी विषयको कार्यान्वयन जुन २०२५ को परीक्षाबाट लागू गरिने भएको छ ।

तर, एनकासार र आईक्यानबीचको सहमतिमा डिसेम्बर २०२४ देखि लागू हुने परीक्षामा ‘क्याप थ्रि’लाई मात्र बिदा दिने उल्लेख भएपछि ‘क्याप टू’का विद्यार्थीहरु असन्तुष्ट भएका छन् । उनीहरुले नेपाल चार्टर्ड एकोन्टेन्ट्स विद्यार्थी संगठन (एनकासा) विरुद्ध नै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

यता एनकासाका अध्यक्ष महेन्द्र खड्काले भने ४ जना उचालेर भिड्न खोजे परिणाम नुहने भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिएका छन् ।

त्यस्तै, एनकासा र आईक्यानबीच भएको सहमतिमा उत्तरपुस्तिकाको छाँयाप्रति हेर्ने शुल्क ५ हजारबाट १ हजार कायम गर्ने र छायाँप्रति लैजाने शुल्क ७ हजारबाट घटाएर ६ हजार कायम गर्ने पनि उल्लेख गरिएको छ । साथै पाठ्यक्रम र पाठ्यपुस्तक पनि अद्यावधिक गर्ने विषयमा विद्यार्थी र आईक्यानबीच सहमति भएको छ ।