साला भिनाजुको गन्थन- 'के लेखापरीक्षण सस्तो पेशा हो ?'
बाबु !
हजुर भिनाजु।
एउटा कुरा भन त । के लेखापरीक्षण सस्तो पेशा हो ?
किन भिनाजु ? हजुर नै लेखापरीक्षक। मैले कसरी भन्ने ?
तिम्रो कुरो बुझ्न मन लागेर।
मैले बुझ्दा हजुरको पेशा लेखापरिक्षक मात्र, तर हजुरले भान्जा, भान्जी विदेशमा पढाउदै हुनुहुन्छ, काठमान्डौमा त्यस्तो घर छ। हजुर टिक्नु भएकै छ। सस्तो कसरी भो?
त्यस्ता कुरा नगर बाबु । तिमीलाई थाहा छ अडिट फि मात्रले गुजारा चल्दैन। सबै भन्न थालौं तिमी फेसबुकमा लेख्छौ ।
😂 😂 यसपाली फेसबुक पोस्ट गर्दिन भिनाजु।
त्यसो भए फेरी सोधें - के लेखापरीक्षण सस्तो पेशा हो ?
खासमा होइन भिनाजु । तर हो। नेपालमा हो ।
किन सस्तो भन्छौ तिमी? पारिश्रमिक सस्तो?
सस्तो भन्नाले भिनाजु, महत्व नभएपछि पैसा सस्तो। पैसा सस्तो भएपछि महत्व कम। दुवै हो।
अनि नेपालमा चै किन हो?
नेपाल हो नि त भिनाजु। हामी नेपाली हौ नि त। त्यसैले हो। नभए लेखापरीक्षण नियमहरु बेलायतमा पनि त्यहि, यहाँ न्युजिल्यान्डमा पनि त्यहि, सबै तिर त्यहि। तर हाम्रोमा किन शुद्ध लेखापरीक्षणले गुजारा चल्दैन? हाम्रोमा किन लै-ब-री लेखापरीक्षण हुन्छ? म यहाँ न्युजिल्याण्डमा पनि देख्छु भिनाजु, हाम्रै नेपाली संस्थाका आर्थिक प्रतिवेदन चै सरकारी नियम भन्दा बाहिर हुन्छ। नियम त छ, अरुले गर्छन। हाम्रोमा चै साधारण सभामा दुई पाने आम्दानी खर्च प्रस्तुत हुन्छ। ट्रायल ब्यालेन्स ल्याए पनि पास हुन्छ भिनाजु।
अनि किन त्यस्तो त?
मलाई त आजकल यो सबै हाम्रो रगतमा छ जस्तो लाग्छ। हेरेडिटी। नेपाली जिन भिनाजु। नभए त्यहि कानुन अरुले मान्ने, हामीलाई खाँचो नलाग्ने । त्यहि नियम बमोजिम अरुले अडिट गर्ने, हामीले नगर्ने। एउटाले यस्तो गर्न मिल्दैन भन्ने, अर्कोले त्यस्तैमा सहि ठोक्ने। भर्खरै नेपालमा एउटा संस्थाको चुनाब भयो, हो-हल्ला गर्ने संस्था, यसो वित्तीय विवरण हेरेको साढे पाँच करोडको नेट वर्थ रहेछ, डोनर फंडीङ्ग समेत लिने, सीए अडिटर। तर लेखा नीति एक पाने, एघार वाक्यको, अस्पष्ट। २०७५ मा अन्तरिम वित्तीय विवरण रहेछ, उनै अडिटर, न प्रतिवेदन छ, न लेखा नीति, न वित्तीय विवरणमा गत वर्षको तुलनात्मक रकम खुलाको छ। तर चलेको छ भिनाजु। चल्छ। यसै गरी चल्छ।
तिमी सबै दोष हामी लेखापरीक्षकलाई दिदैछौ। हामी यहि समाज भित्र बस्छौ, यहिका उपज हौ। कति अवस्था बाध्यकारी हुन्छ। कर कार्यालयले अडिटरलाई भनेर मिलाएर ल्याउनुस, अनि गरौला भन्छ। क्लाइन्टले मैले करमा मिलाइसकेको छु, हजुरले यो गर्नु पर्यो भन्छ। अनि कसरी नगर्ने? धेरैले त करमा मिलाउने जिम्मा नै दिन्छ। कर कार्यालयले सोझै अडिटरलाई फोन गर्छ ? तर तिमी दोष हामीलाई मात्र दिन्छौ?
त्यसैले भिनाजु, तपाईले गर्ने काम लेखापरीक्षण नै होइन। तपाई जर्नल बनाइदिने, लेखानिती बनाइदिने, वित्तीय विवरण बनाउने, करको गणना गर्ने, आय विवरण भर्ने अनि लेखापरीक्षणको काम गरे भनि प्रतिवेदन दिने? त्यो कानुन सम्मत कसरी भो? काम जेनेरल फिजिसियनको गर्ने अनि नसा रोग विशेषज्ञको गरे भनि प्रतिवेदन दिने?
लेखापरीक्षकले आयव्यय प्रमाणित गर्ने भनेको छ अनि त्यति नगरे के बेरोजगार भएर हिड्ने?
सुधार यहिबाट थाल्नु पर्यो नि भिनाजु। आयकर ऐनको दफा ९६ ले लेखापरिक्षकले कर विवरण प्रमाणित गर्ने कहाँ भन्यो? कर्मचारीले पनि गर्न मिल्छ भनेको छ नि। स्वयं कर विवरण बुझाउने सिद्धान्त हो। तपाइले प्रमाणित गरेपनि ऐन बोजिमको हिसाबकिताब राखेको छ भनि प्रमाणित गर्ने हो, ऐन प्रष्ट छ । वित्तीय विवरणको लेखापरीक्षण र कर बमोजिम हिसाब किताब प्रमाणित गर्नु फरक विषय होइन? निश्चित कारोबार सम्मका स-साना क्लब, प्रोप्राइटर फर्म, साझेदारी, कम्पनी, एनजीओहरु कसैलाई पनि बाह्य लेखापरीक्षण जरुरी छैन तर आइक्यानका सिओपि हुनेले कर विवरण प्रमाणित गरे पुग्छ भनि नियम बनाए तपाइको आम्दानी पनि घट्दैन, राजस्व विभागको आवस्यकता पनि पुग्छ, गर्दै नगरेको अडिट गरे भन्नुपनि परेन। तर हामी बोल्यौ? यस्तो आधारभुत सुधारको निम्ति कसले पहल गर्यो?
तिम्रो देशमा के हुन्छ?
मेरो देश होइन कि भिनाजु यो।
भैगो भैगो। तिमी बसेको देशमा के हुन्छ त?
सबै संस्थाले अडिट गराउनु पर्दैन। वित्तीय विवरण र आय विवरणको सम्पूर्ण काम सिओपी हुनेले गर्छन, स-साना संस्था, कम्पनी, व्यवसायको ट्याक्स एजेन्टले पनि गर्छन। दश लाख डलर (नेपाली लगभग आठ करोड ) भन्दा कम वार्षिक कारोबार हुने सामाजिक संस्थाले अडिट गराउन पर्दैन। यसो हुँदा अडिट गर्नेपर्नेले मात्र अडिटर खोज्छन, अडिटको महत्व हुन्छ। साधारण सभाले अडिटर नियुक्ति गर्छन, काम अनुसार अडिटरले पारिश्रमिक लिन्छन। हामीले नेपालमा जे को पनि अडिट गर्ने भन्यौ, आइक्यान आफैले अडिट स्ट्याण्डर्ड बनाउछ, त्यत्रो नियमको पालना गरी पाँच हजार/दश हजारमा अडिट हुन्छ भने जसरी आफै न्युनतम पारिश्रमिक तोक्छ। यो आफैमा गाईजात्रा होइन भिनाजु?
खै बाबु, हामीलाई त यो तिम्रो मोटो स्ट्याण्डर्ड चाहिएको होइन। जे गर्ने हो त्यहि गरेको भन्न पाए त्यै ढुक्क। बहुमत तिमीहरुकै छ क्यारे। भन। गराउ ।
स-साना फर्म, संस्था, कम्पनीहरुलाई अडिटको जरुरत होइन, सहि वित्तीय विवरण र कर सहयोग हो। हजारौ आरएले अडिट गर्ने यिनै संस्था हुन् जसलाई अडिट चाहिएको छैन । वित्तीय विवरण बनाउने, कर विवरण प्रमाणित गर्ने सेवा प्रदान गर्ने। लेखापरिक्षण क्षेत्रको सुधार यहिबाट गर्नुपर्छ भिनाजु। अनावस्यक अडिट हटेपछि बाँकी अडिट नियमन प्रभावकारी हुन्छ। मेरो कुरो यत्ति हो। यो सुधारको आवाज उठाउने हजुरहरुले नै हो। हामीहरुभन्दा शक्तिशाली हजुरहरुहो भिनाजु। हजुरहरु चारले जता हान्यो तिनै अध्यक्ष। मेरा उमेद्वारलाई त हजुरले केटाकेटी ठहरिन्छन् भन्नु भएकै छ। अरु आवाज उठाउनुपर्नेहरुलाई आजकल झन् शाखा खोल्न कै पिर छ। म त भन्छु आइक्यानको सदस्य हुने बित्तिकै सीएलाई पनि अडिट गर्न दिन हुदैन। यो अन्तराष्ट्रिय प्रचलन पनि होइन। तर नियम कपीपेष्ट गर्नपनि साथीहरु दक्षिण तिरमात्र हेर्नु हुन्छ। आइक्यानको सदस्य हुने बित्तिकै सिओपि दिन हुदैन भन्यो भने सीएलाई नै ठिक लाग्दैन । त्यसैले सुधारका कुरा थाल्ने, गर्ने हजुरहरुले नै हो।
ल बाबु ल, कुरा गर्यो ठुला मान्छे बनाउँछौ उल्टै। फेरी कुरा गरौला।
भिनाजुलाई आदर गर्नु पर्यो नि।
तिम्रो दिदीलाई पनि सिकाउ त्यसो भए।
हा.…हा..🤣🤣🤣 हवस् भिनाजु 🙏🙏।
प्रतिकृया दिनुहोस्