आइक्यानलाई एसीसीए सदस्यको मार्मिक पत्र : प्रबेशद्धारको 'तुइन विस्थापन गरी पक्की पुल निमार्ण गरौँ न है !'
महोदय,
म चार्टर्ड सर्टिफाइड एकाउण्टेन्टको पदवी लिएर आइक्यानको सदस्यता लिनको लागि सहज मार्गको खोजीमा भएको एक साधारण नेपाली नागरिक । आइक्यानको सदस्यता भिरेका नेपाली जति छन् नि महोदय, हो त्यसैको दुई तिहाइ जति संख्यामा म जस्तै नेपालीहरु छन् जसले एसीसीएको सदस्यता भिरेका छन् तर म त्यसको पनि आधामा पर्छु जसले नेपालमै बसेर केही गर्नुपर्छ भनिरहन्छ । नेपालमै बसेर केही गर्छु भनिरहदा मेरो योग्यताको छडी लेखाव्यवसायमै सोझिन्छ र बजारमा यसलाई मापन गर्ने एउटा जबरजस्त कसी बनाइएको छ आइक्यानको सदस्यता ।
महोदय,
त्यही सदस्यता लिने मार्ग प्रशस्त गर्न एसीसीए र आइक्यानबीच आपसी सहमति हुदै छ भन्ने हल्लाले कुनै बेला बजारमा व्यापकता पाएको थियो । लेखाव्यवसायको विकाश, संरक्षण र सम्वद्र्धनका लागि आइक्यान र एसीसीएबीच सम्बन्ध सेतुको रुपमा अब पक्की पुल बन्छ भन्ने अपेक्षा म जस्ता धेरैमा थियो महोदय तर दुई पक्षबीच सहमति हुदा पक्की पुल नभएर झोलुंगे पुल भएर आयो, त्यसैलाई पनि आइक्यानको परिषदले कार्यविधि बनाउदा तुइन बनाइदियो । तुइन पनि यस्तो बेलामा बनेर आयो महोदय, जुन बेला झोलुंगे पुलको पनि काम नभइ पक्की पुलकै अभाव खड्किएको थियो ।
एउटै देशमा समान अधिकार प्राप्त संस्था आइसीएईडब्लु संग भए जस्तै एसीसीए र आइक्यान वीच एमआरए हुदै छ भन्ने अर्थमा पक्की पुल सोचिएको थियो । तर सो भएन र आपसी सहकार्य सम्झौता (एमसीए) मात्र भयो, त्यसमा पाठ्यक्रम मिल्ने विषयहरु समेत छुट हुने कुरा समेटिएन र आर्टिकलसिप तालिमको विषयमा समेत केही तर्कहीन एक पक्षीय सर्त देखियो जसले अपेक्षालाई झोलुंगे पुलमा झारिदियो । यसमा एसीसीएले किन केही पहल गरेन भन्नुहोला महोदय, यो विषय जगजाहेर नै छ कि, एसीसीएको लागि नेपाली मार्केट सारभूत छैन र उसलाई नेपालीको लागि सोचिदिनु त्यति चासोको विषय पनि रहेन । तर हामी त यो देशको नागरिक हौ, नागरिकको प्रतिनिधि संस्था र नेपालमा लेखा व्यवसायको विकासको लागि एक मात्र कानुनी आधार प्राप्त संस्था भएको नाताले नेपाली एसीसीए सदस्यहरुको आवश्यकताको सम्बोदन आइक्यानले गर्नैपर्ने अवस्था छ ।
अन्य देशमा जस्तो लेखाव्यवसायी उत्पादन गर्ने संस्था र ती संस्थालाई नियमन गर्ने फरक संस्था नभएको हुदा आइक्यानको नेपालमा दोहोरो भुमिका भएको कुरा त सबैलाई थाहा नै छ । आइक्यानको लेखाव्यवसायी उत्पादन गर्ने तथा सदस्यता वितरण गर्ने भुमिका भन्दा लेखाव्यवसायको विकाश, संरक्षण र सम्वद्र्धन गर्ने भुमिकालाई जोड दिनुपर्ने कुरा निर्विवाद रहे पनि आँखा चिम्लिएको किन त < राज्यको एउटा नियमनकारी निकाय नियमन भन्दा बढी किन नियन्त्रणमा रमाइरहेछ, प्रश्न अनुत्तरित छ । महोदय, यदि म गतल छैन भने एमआरए भएका अन्य संस्था पनि आइक्यानलाई खोजेर आएका होइनन्, आइक्यानकै पहलमा भएका हुन् । फेरी दुइचार जना पनि लाभान्वित संख्या नभएको उही मुलुकको अर्को संस्थासंग एमआरए गर्न पहल गर्ने आइक्यानले एक हजार बढी लाभान्वित संख्या हुने संस्थासंग एमआरए गर्न किन उस्तै पहल गरेन, यसको जवाफ भेटिएको छैन । क र ख बराबर तथा ख र ग बराबर भएको समीकरणमा मैले जानेको बीजगणितले क र ग पनि बराबर हो भन्छ तर आइक्यानको बीजगणित यो कुरा मान्न किन तयार छैन बुझ्नै सकिएन महोदय ।
आवश्यकता अनुसार सम्झौता भएन, ती कुरालाई एकछिन थाती राखौ, सम्झौता जे भयो त्यसैलाई लागु गर्न बनाएको कार्यविधिमा मिल्ने सम्म अफ्ट्यारा सर्त राखी तुइनजस्तै अफ्टेरो बनाइदिएको छ महोदय । महोदय, आइक्यानले राखेका केही शर्तहरु एसीसीएको शर्त बमोजिम नै व्याख्या गरिएको सुनियो तर एसीसीएको जुन लचकता दिएको छ, त्यो ठाउँमा आखा चिम्लिएर तुलनात्मक रुपमा कठोर भएका व्यवस्थालाई भने आइक्यानले यथावत गरेको देखियो । कार्यविधिले तोकेको शुल्कमै हेरौँ न, विषय छुट शुल्क भनी एसीसीएले एसीसीएकै विद्यार्थीले उक्त विषयको परिक्षा शुल्क जति बुझाउनु पथ्र्यो, त्यही शुल्क नै तय गरेको छ तर आइक्यानको एक विषयको परीक्षा शुल्क रु एक हजार भएकोमा एसीसीएलाई विषय छुट शुल्क भनी प्रति विषय रु दश हजार तोकेको छ, जुन आफैमा तर्कहीन र आधारहीन देखिन्छ । त्यस्तै एसीसीएको पेशागत प्रमाणपत्रको लागि आवश्यक अनुभव सम्बन्धमा परिक्षामा सहभागी भएपछि लिन सकिने व्यवस्था छ भने आइक्यानले चाहीं परिक्षामा सहभागी हनु अघि नै निर्धारित तालिम लिएको हुनुपर्ने व्यवस्था गरेको छ ।
एसीसीएको लागि सदस्यता र पेशागत प्रमाणपत्र अलग विषयबस्तु हुन । एसीसीएको सदस्यता लिन आवश्यक शर्तमा धेरै लचकता र पेशागत प्रमाण पत्र लिन केही थप शर्त रहेका छन् । तर आइक्यानले भने आफनो सदस्यता लिनको लागि पनि पेशागत प्रमाणपत्र लिन गनुपर्ने सम्पूर्ण सर्त पूरा गर्नुपर्ने व्यवस्था गरेको छ जसमा आइक्यानले मेरै गोरुको बाह्रै टक्का गरेझै देखिन्छ । महोदय, अफ रमाइलो कुरा त के छ भने आइक्यानमा दर्ता भएर पढेका विद्यार्थीले सदस्यता लिन पूरा गर्नुपर्ने ३ वर्ष अवधिमध्ये दुई वर्ष पंजिकृत प्रशिक्षण र एक वर्ष तोकिएका संस्थाको अनुभव भए पुग्छ भन्ने कुरा सर्वविदितै छ । तर एसीसीए सदस्यलाई भने १ वर्ष थप प्रशिक्षणको वर्गमा पर्नको लागि पनि आइक्यानबाट पेशागत प्रमाणपत्र प्राप्त गरेको चार्टर्ड एकाउन्टेन्टबाट पूरा ३ बर्ष प्रशिक्षण तालिम लिएको हुनुपर्ने बिवादास्पद व्यवस्था गरिएको छ ।
यसले सोझै आइक्यानकै सीएको अन्तर्गत रही ४ वर्ष प्रशिक्षण लिनु पर्ने अवस्था सिर्जना भएको देखियो । आइक्यानकै सीएको अन्तर्गत रहेको तालिमको अनुभव आवश्यक पर्ने भएपछि सो पुरा गरेको अवधि यदि आइक्यानको प्रशिक्षार्थीले गर्नुपर्ने न्युनतम अवधि भन्दा बढी छ भने थप अवधि आवश्यक भनेर किन राखियो त, यसको जवाफ भेटिएन महोदय । परिक्षा जुन बोर्डको दिए पनि आखिर कम्पिटेन्सी त आइक्यानकै सीएको सिकिएको हुन्छ भने त्यसलाई विदेशी संस्थाको प्रशिक्षार्थी भनिराख्नु आवश्यक छ र ? अझै अर्को कुरा लेखा व्यवसायमै रहेका एसीसीए सदस्यको अन्तर्गत रही काम गरेका प्रशिक्षार्थीको अनुभवको गणना किन कतै उल्लेख छैन ? सायद यसको हिसाब मिलान सस्पेन्स एकाउन्टबाट भएको हुनुपर्छ अन्यथा भुमण्डलीकरणको यो मितिको वासलातको हिसाब पक्कै मिल्ने थिएन ।
महोदय,
एसीसीए सदस्य हुँ भन्नु अघि म एक जिम्मेवार नेपाली नागरिक हु, राज्यलाई आवश्यकता भएको क्षेत्रमा आफ्नो क्षमताले भ्याएसम्म योगदान गर्नु मेरो कर्तब्य पनि हो । लेखा व्यवसायको विकाशको निमित्त अनुभव, क्षमता र योग्यता भएका व्यक्तिलाई मार्ग प्रशस्त गर्नु आइक्यानको पनि दायित्व हो । हुन त मैले विदेशी कानुन पढेर सर्टिफिकेट लिएको हु तर पनि बौद्धिक अभ्यास नेपालकै कानुनको सेरोफेरोमा रही गरेको छु । महोदय, उचित बौद्धिक श्रम अभ्यासको हक, रोजगारीको छनोटको हक र पेशा व्यवसाय गर्न पाउने स्वतन्त्रताको हक नागरिक अधिकारकै रुपमा संविधानमा नै लेखिएको देख्छु । यदि मैले लेखा व्यवसाय नै छनोट गरेर बौद्धिक श्रम अभ्यास गर्न चाहें भने परिषदले बनाएको तुइनबाट काम चलाउनु पर्ने हो ? वा जवरजस्त अन्य विकल्प रोज्नुपर्ने हो ? यदि होइन भने यस सम्झौता र कार्यविधिमा पुनरावलोकन गरी नेपाली नागरिकको लागि मात्र भए पनि सम्मानजनक तरिकाले आइक्यानको सदस्यता लिने माहोल बनोस् ।
तपाईको नेपाली शुभेच्छुक
एपी शर्मा
प्रतिकृया दिनुहोस्