यस्तो पनि हुन्छ केहि कोचिङ सेन्टरमा, 'तयारी कक्षाका नाममा विद्यार्थी किनबेच !'
२६ जेठ गते पहिलो न्यूज डटकम नामक अनलाइनले सिएको तयारी कक्षाका नाममा विद्यार्थी किनबेच हुने गरेको भन्दै समाचार प्रकाशित गरेको छ । 'तयारी कक्षाका नाममा विद्यार्थी किनबेच' शिर्षक दिइएको उक्त समाचारमा एमबिबीएस तयारी कक्षादेखि सिएको तयारी कक्षासम्म विद्यार्थीको किनबेच हुने दावी गरिएको छ ।
यस्तो छ समाचार :
तयारी कक्षाका नाममा विद्यार्थी किनबेच !
२६ जेठ । सर्लाही घर भएकी सुमित्रा उप्रेती (नाम परिवर्तन) गत बर्ष त्यसबेला अचम्ममा परिन्, जब उनले भर्ना गरेको संस्थामा नभई अर्को संस्थामा पढ्नुप¥यो । पछि बुझ्दै जाँदा उनलाई थाहा भयो– आफूलाई भर्ना लिएर सो संस्थाले अर्को संस्थासँगको मिलेमतोमा बेचेको रहेछ ।
कक्षा १२ को परीक्षा सकेर तयारी कक्षा पढ्न चाहने विद्यार्थीमध्ये सुमित्रा एक उदाहरण हुन् । कक्षा १२ को अध्ययनपछि डाक्टर, इन्जिनियर वा चार्टड एकाउन्टेन्ट बन्ने सपना बोकेका हजारौँ युवाहरु च्याउसरी उम्रिएका तयारी कक्षा (कोचिङ) केन्द्रमा अध्ययनका लागि जाँदा यसरी ठगिने गरेका उदाहरण प्रशस्त छन् ।
त्यही मौका पर्खेर बसेकाहरु एमबीबीएस, बीई वा सीएका तयारी कक्षा सञ्चालनका नाममा ठूला–ठूला होर्डिङ बोर्ड राखेर विद्यार्थी तान्ने प्रयासमा लागेकाहरुले तपाईंहरुलाई अध्ययनका लागि दबाब दिइरहेका छन् भने ख्याल गर्नुहोला– राम्रो अध्ययन गराउने प्रलोभन देखाएर त्यहाँ तपाईंको भविष्य मात्र होइन, जीवन नै बर्बाद बनाउने अवस्था पनि सिर्जना हुन सक्छ । तपाईं अध्ययनको प्रलोभनमा बेचिन पनि सक्नु हुनेछ ।
‘यो त सरासर मानव बेचविखन हो । एउटा संस्थाले अर्को संस्थालाई यसरी विद्यार्थी पनि बेच्दो रहेछ’, सुमित्राले पहिलोन्यूजसँग भनिन् । उनका अनुसार, काठमाडौँका साना संस्थाहरुले विद्यार्थी भर्ना गर्ने तर कक्षा सञ्चालन गर्न नसकेपछि विद्यार्थीले तिरेको केही पैसा कटाएर विद्यार्थीहरुलाई अन्यत्रै पठाउने गरेका छन् । यस्तो धन्दा विशेषतः सीएको कक्षा सञ्चालन गर्ने संस्थाहरुमा हुने गरेको छ ।
थोरै विद्यार्थी भर्ना भएपछि आफूले पढाउनु भन्दा अरुको जिम्मा लगाउनुमा नै फाइदा हुने हुनाले तयारी कक्षा सञ्चालन गर्ने साना संस्थाहरुले यस्तो काम गर्ने गरेको पीडितहरुको भनाइ छ ।
मौसमी व्यापारका लागि खोलिएका त्यस्ता तयारी कक्षा अहिले व्यापार नभएर विकृति भित्र्याउने माध्यम भएका छन् । छोटो समयमै मालामाल बन्ने ध्याउन्नमा त्यस्ता तयारी कक्षा सञ्चालन गरेकाहरुको जालो विभिन्न कलेज र तिनका सञ्चालकहरुसम्म पुगेको भेटिन थालेको छ । उनीहरुकै मिलेमतोमा विद्यार्थी किनबेचसम्मको खेल हुने गरेको स्रोतले दाबी गरेको छ ।
केही कलेजका प्रतिनिधिहरुले नै विद्यार्थीलाई जबरजस्त त्यस्ता तयारी कक्षमा पु¥याउने र मोटो कमिसन लिने गरेको बुझिएको छ । जानकारी अनुसार, कतिपय त्यस्ता तयारी कक्षा सञ्चालकहरुले प्रति विद्यार्थी २ हजारदेखि ५ हजारसम्म कमिसन दिने गरको बुझिएको छ ।
एमबीबीएसदेखि सीएसम्म कमिसन
विभिन्न कलेजका प्रतिनिधि र त्यसमा पनि कलेजका संयोजक वा सम्बन्धित विषयका शिक्षकहरुको मिलेमतोमा यस्तो कार्य हुँदै आएको बुझिएको छ । ‘एमबीबीएसको तयारी कक्षा सञ्चालन गर्नेहरुले विभिन्न कलेजका ‘बायोलोजी’ पढाउने शिक्षकसँग कुरा मिलाएका हुन्छन् भने इन्जिनियरिङको तयारी कक्षा सञ्चालन गर्नेहरुले गणित वा ‘फिजिक्स’ पढाउने शिक्षकसँग कुरा मिलाएका हुन्छन्,’ त्यस क्षेत्रलाई नजिकबाट बुझेको स्रोतले भन्यो, ‘त्यस्तै सीएको तयारी कक्षा सञ्चालन गर्ने विभिन्न कोचिङ सेन्टरले विशेषगरी व्यवस्थापन पढाउने कलेजका लेखा विषयका शिक्षकसँग कुरा मिलाएका हुन्छन् ।’ कतिपय कलेजका प्रधानाध्यापक समेत यस्तो धन्दामा लाग्ने गरेको स्रोतको दावी छ ।
कमिसनकै कारण शुल्क बढ्यो
यसरी कलेजका प्रतिनिधि वा विद्यार्थी ल्याइदिनेलाई कमिसन दिनु परेपछि त्यसको भार विद्यार्थीमै आउने गरेको छ । ‘कोचिङ सेन्टरले लिने शुल्कमा विद्यार्थी ल्याइदिनेलाई पनि कमिसन दिनुपर्ने बाध्यताले त्यसको भार विद्यार्थीमा पर्ने गरेको छ,’ स्रोतले भन्यो, ‘विद्यार्थी ल्याइदिनेसँग पहिला नै तपाईंलाई यति, मलाई यति भन्ने सेटिङ हुन्छ । जति बढी विद्यार्थी ल्यायो, त्यही अनुसारको कमिसनको रेट पनि बढ्छ ।’
‘कोचिङ सेन्टरले लिने शुल्कमा विद्यार्थी ल्याइदिनेलाई पनि कमिसन दिनुपर्ने बाध्यताले त्यसको भार विद्यार्थीमा पर्ने गरेको छ,’ स्रोतले भन्यो, ‘विद्यार्थी ल्याइदिनेसँग पहिला नै तपाईंलाई यति, मलाई यति भन्ने सेटिङ हुन्छ ।
यही धन्दा गरेर बस्ने पनि छन्
स्रोतका अनुसार अहिले काठमाडौँमा यस्तै धन्दा गरेर बस्ने दलालहरु सक्रिय छन् । विद्यार्थी र तयारी कक्षा सञ्चालन गर्ने कोचिङ सेन्टरबीच कुरा मिलाइदिने, विद्यार्थीलाई विभिन्न शिक्षकसँग कुरा गरेर प्रभावमा पार्न लगाउने र ती विद्यार्थी भर्ना भइसकेपछि सोही अनुरुपको कमिसन लिने दलालहरु अहिले सिजनको बेला निकै सक्रिय भएका छन् । प्लस टु पछि पढिने एमबीबीएस, इन्जिनियरिङ, सीए लगायतका विभिन्न विषयको तयारी कक्षा पढ्ने विद्यार्थीको संख्या बढ्ने हुनाले यस्ता दलालहरु यो समयमा अझ बढी सक्रिय हुने गरेको बुझिएको छ ।
के भन्छन् संचालक ?
यसबारे पहिलोन्यूज सम्बाददाताले राखेको जिज्ञासामा तयारी कक्षा सञ्चालन गरेर बसेका सञ्चालकले त्यस्ता दलालले गर्दा विद्यार्थीमाथि भार परेको घुमाउरो पाराले स्वीकार गरे । पुतलीसडकस्थित एक सीए तयारी कक्षाका सञ्चालक भन्छन्– ‘यो केही हदसम्म सत्य हो, छोटो समयमै केही कमाउन आउनेहरुले त्यस्तो गर्दा हामीलाई पनि समस्या भएको छ ।’
उनले कतिपय संस्थाले त त्यसरी नै विद्यार्थी जम्मा गर्ने गरेको बताए । ‘त्यसो गर्दा सञ्चालकले छोटो समयमा त धेरै कमाउँछन् तर एकातिर विद्यार्थीको भविष्य अन्धकार हुन्छ भने अर्कोतिर राम्रो काम गर्नेहरुलाई पनि त्यही आँखाले हेर्दा व्यवसाय सञ्चालन गर्न नै समस्या हुन्छ ।’
नियमन गर्ने निकाय नहुँदा समस्या
यस्ता तयारी कक्षाहरुलाई नियमन गर्ने निकाय नहुँदा समस्या पर्ने गरेको छ । सिएको तयारी कक्षा संचालन गर्ने कतिपय संस्थाहरुलाई नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाले सम्बन्धन दिएको भएपनि सो अनुरुप नियमन नगर्दा यस्तो कामले प्रसय पाइरहेको छ ।
सम्बन्धन नलिएका सिएको तयारी कक्षा संचालन गर्नेहरुलाई कसले नियमन गर्ने भन्ने अर्को प्रश्न उठेको छ । यता एमबिबिएस, बिइ लगायतका तयारी कक्षा संचालन गर्ने संस्थाहरुलाई नियमन गर्ने निकाय नहुँदा दलालहरुले विद्यार्थी बेचेर पैसा कमाइरहेका छन् ।
पहिलोन्युज डटकमले लेखेको समाचारको लिंक यहाँ छ :
तयारी कक्षाका नाममा विद्यार्थी किनबेच !
प्रतिकृया दिनुहोस्