
आइक्यानको परिक्षा नजिकिँदो छ। तर भारतले गरेको अघोषित नाकाबन्दी रोकिएको छैन। बिराटनगर र बीरगंजलगायतका ठाउँहरुमा आइक्यानले कसरी परिक्षा सम्पन्न गर्छ, आइक्यानले त्यस्तो कुनै सार्वजनिक खाका प्रस्तुत गरेको छैन। इन्धन संकट छ, विद्यार्थी कसरी परिक्षा हलसम्म पुग्लान ? अनेकौं प्रश्नहरु उब्जिएका छन्। तर तीमध्ये आइक्यानले कुनै कुरालाई सम्बोधन गरेको छैन।
आइक्यानको परिक्षा लगातार हुने गर्दछ। हेरेक कुराको भारतीय बोर्डबाट नै सिको गर्ने आइक्यानले यस्तो इन्धन संकटका बेला परीक्षाको बीचमा विदा गरिदिए हुन्थ्यो भन्ने विद्यार्थीको आवाज पनि उठीरहेका छन्। तर आइक्यानले यस आवाजको सम्बोधन गरेको छैन।
तराइ पुरै ठप्प छ। तर आइक्यानले बिराटनगर, बिरगंज लगायतका ठाउँमा कसरी परिक्षा सम्पन्न गर्ने भन्ने बारे उचीत खाका सार्वजनिक गरेको छैन । यसै पनि विवादित बनिरहेको वर्तमान कार्यकालले सम्पन्न गर्न लागेको यो परिक्षा सम्पन्न गर्न नेतृत्वलाइ ढुंगा चपाउनु सरह हुने कुरामा कुनै दुइ मत छैन।
बिगतमा परिक्षा केन्द्र निकै नै असहज भएको आवाज उठेको थियो। तर त्यसका लागि आइक्यानले नयाँ विकल्प दिन सकेको छैन। आईक्यानले प्रयास भइरहेको भनिएपनि सस्तो केन्द्र खोज्ने बहानामा यो ढिलाई भएको प्रष्ट छ।
आफ्ना पधाधिकारीलाइ विदेश घुमाउन आइक्यानले कहिले पनि प्लेनको सस्तो टिकट खोज्दैन। जाँड पार्टी गर्नु पर्यो भने आइक्यान कहिले पनि सस्तो होटल खोज्दैन। भवन उद्घाटन जति पटक गरेपनि पैसाको मतलव छैन। तर विद्यार्थीको सवालमा भने परिक्षा केन्द्र उसलाई सस्तो चाहिएको छ। विद्यार्थीले भन्ने ठाउँ छैन। भन्ने मान्छेहरु आफैं महंगा छन्।
आइक्यानले विद्यार्थीको समस्यालाइ सम्बोधन गर्ने पर्छ । बनेपा बाट चावाहिल वा अन्य कुनै ठाउँमा परिक्षा दिन आउने विद्यार्थीलाई पनि सोच्नु पर्छ। न कि आफ्नो गाडीमा हुइकाउने आफ्ना भतिजी र भान्जीहरुबारे मात्र। सरकारसँग वार्ता गरी परीक्षाको माहोल बनाउनु पर्छ। अथवा गत बैशाखमा जस्तै परीक्षाको मिति केहि लम्बाउंदा पनि आकास खस्दैन। केहि सोच्ने कि आइक्यान ?
-सुरज प्याकुरेल
प्रधान सम्पादक
प्रतिक्रिया दिनुहोस्