अन्तशुल्क, भ्याट र आयकर के हो ? कति र कसरी तिर्ने ! (भिडियोमा भवनाथ दाहाल )
मानिसहरु करलाई राज्यले लगाएको बोझ जस्तो ठान्ने गर्दछन । तर कर जनताले
सरकारलाई तिर्नै पर्ने रकम हो । उक्त रकम जनताको हितको लागी खर्च गरिन्छ ।
कर जनताले तिर्नुपर्ने कर्तव्य हो भने यसको उचित सदुपयोग गर्नु सरकारको
दायित्व हो । कर अनिवार्य रुपमा तिर्नुपर्ने हुन्छ । कर कानुन अलिक जटिल
हुन्छ र अप्ठ्यारो हुन्छ । अप्ठ्यारो कानुन भएकाले बेलैमा बिचार पुर्याईएन
भने यसले जटिलता ल्याउ सक्छ । साना व्यवसाय गरेबापत सामान्यतया ३ थरीका कर
लाग्ने गर्दछन् । पहिलो अन्त शुल्क, दोश्रो मूल्य अभिवृद्धिकर र तेश्रो
आयकर हुन् ।
अन्त शुल्क
अन्तशुल्क खासगरी मदिराजन्य बस्तुहरुको कारोबार गर्नेले इजाजत पत्र लिएर
काम गर्ने हुनाले सानै व्यवसायी भएपनि अन्तशुल्कका रुपमा कर तिर्नु पर्दछ ।
त्यस्तो इजाजतपत्र आफूसँग सम्बन्धित रहेको कार्यालय वा करदाता सेवा
कार्यालयमा पाइन्छ । त्यहाँबाट अनुमति प्राप्त गरेपछि इजाजतपत्र प्राप्त
गर्ने समयमा नै केही पैसा तिरे पुग्छ ।
मूल्य अभिवृद्धि कर अर्थात भ्याट
मूल्य अभिवृद्धि कर वा भ्याट भन्नाले वस्तु तथा सेवाको मुल्यमा भएको
वृद्धि रकममा लाग्ने करलाई बुझाउँदछ । यो कर विभिन्न देशमा फरकफरक दरमा
असुल गरिन्छ । नेपालमा यो कर मुल्य अभिवृद्धि कर ऐेन २०५२ तथा मुल्य
अभिवृद्धि कर नियमावली २०५३ ले निर्दिष्ट गरे अनुसार लागु गरिएको छ । हाल
नेपालको व्यवस्था अनुसार बिक्री मूल्यको १३ प्रतिशत मूल्य अभिबृद्धि कर
लाग्ने व्यवस्था छ ।
सामान आयात निर्यात अर्थात किनबेचका सम्बन्धमा यो कर लाग्ने गरेको छ ।
२०७२ सालदेखि ५० लाखसम्मको बार्षिक कारोबार गर्नेले भ्याटमा दर्ता भइराख्नु
पर्दैन् । यस्तो रकमको सीमा अघिल्लो वर्षसम्म २० लाख थियो । जसलाई थ्रेस
होल्ड भनिन्छ । थ्रेस होल्ड बढेर अहिले ५० लाख पु¥याइएको छ । १० महिनाको
खरिद र १२ महिनाको बिक्रीमा कुन बढी छ त्यसलाई हेरेर ५० लाख भन्दा बढी
कारोबार भएको खण्डमा भ्याटमा दर्ता हुनुपर्छ । दर्ता भएपछि भ्याटसँग जोडिएर
काम गर्नुपर्छ ।
यसमा खरिदबिक्री खाता व्यवस्थापन, बेचेका हरेक सामान, भ्याट नियमनकारीले
तोकेको बमोजिम बिलमा हुनुपर्छ । बिल दुईथरीका हुन्छन् पहिलो संक्षिप्त कर
बिजक हो भने दोश्रो कर बिजक । कर बिजकमा महिनाभरीको खरिद र बिक्रिको
छुट्टाछुट्टै हिसाबमा राखी त्यसबाट हुन आउने भ्याट पनि महिना सकिएको
अन्तिममा बुझाउन सकिन्छ, अन्यथा नतिरेको खण्डमा जरिवाना सहित कारबाही समेत
हुन्छ । तसर्थ आफ्नो हिसाबकिताब सुरक्षित राख्नुपर्छ ।
आयकर
आयकर भन्नाले कुनै पनि व्यक्तिको आयमा लाग्ने प्रत्यक्ष करलाई जनाउँदछ ।
आयकर राज्यले व्यवस्था गरे अनुसार फरक राज्यमा फरक दरमा लागू हुन्छ ।
नेपालमा लाग्ने आयकरलाई आयकर ऐन २०५८ तथा आयकर नियमावली २०५९ ले निर्दिष्ट
गर्ने गर्दछ । नेपालको आयकर कर प्रणाली अनुसार व्यक्तिको आयमा आयकर लाग्दछ
भने कर प्रयोजनको लागी व्यक्ति भन्नाले दुई प्रकारको व्यक्तिलाई बुझाउँदछ
पहिलो प्राकृतिक व्यक्ति तथा निकाय वा संस्था पर्दछन् ।
भुक्तानीमा कर काट्नु नै आयकर हो । आयकरमा दुईवटा कुरा हुन्छन् । एउटा
भनेको सामान आपूर्ति गर्यो भने जसले सामान भुक्तानी गरेको हुन्छ, उसले नै
कर काटेर दिएको हुन्छ । जसलाई भुक्तानीमा करवृद्धि भनिन्छ । जस्तो
सेवाशुल्क भुक्तानी गर्दा, घरभाडा भुक्तानी गर्दा, कर्मचारीको तलबबाट पनि
कर काट्ने गरिन्छ ।
त्यस्तै किराना पसल, चिया पसल, स्टेशनरी पसल जस्ता अधिकांश सर्वसाधारणको
पहुँचमा गरिने व्यवसायले अनुमानित कर तिरेका हुन्छन् । जसका लागि एकल
व्यवसायी फर्म भरेर त्यही अनुसार तिर्नुपर्दछ, बर्षको कारोबार २० लाख तथा
फाइदा २ लाख भित्र छ र महानगरपलिका र उपमहानगरपालिका भित्र व्यवसाय सञ्चालन
गरेको छ भने वर्षको ५ हजार कर तिर्नुपर्दछ । त्यस्तै नगरपालिका भित्र
सञ्चालन गरिएको हो भने २ हजार ५ सय र गाविसमा १ हजार ५ सय रुपैंया कर
तिर्नुपर्दछ । त्यस्तै २० लाख भन्दा माथि ५० लाखसम्मको कारोबार गर्नेले
नाफाको प्रतिशत हेरेर, ३ प्रतिशत भित्र छ भने कारोबार शुन्य दशमलव ५
प्रतिशत कर तिर्नु पर्दछ ।
जुन कर पुस मसान्त र चैत मसान्त भित्र दुई पटक तिर्नुपर्दछ । यदि ढिलो
भएमा १५ प्रतिशत ब्याज लाग्छ । त्यस्तै ३ प्रतिशत बढी फाइदा भएकाले आफ्नो
कारोबारको १ दशमलव ५ प्रतिशत कर तिर्नुपर्दछ । सेवाको हकमा चाँही कारोबारको
२ प्रतिशत कर तिर्नुपर्ने हुन्छ ।
प्रतिकृया दिनुहोस्