![]() |
नबराज बुर्लाकोटी, निवर्तमान अध्यक्ष,नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ |
लेखापरीक्षकलाई सम्बन्धित संस्थाले नियम अनुसार पास गरेर दिएका बिल, भौचर
नै गलत भएका रहेछन् भने त्यो गलत भयो नि । मूल उत्पत्तिको थलोमा नै फट्याइँ
भएको रहेछ भने त लेखापरीक्षकले त्यसको जिम्मेवारी लिने कुरा हुँदैन ।
लेखापरीक्षक भनेको विभिन्न समान खरिद बिक्री तथा खर्च गर्ने
अख्तियारप्राप्त निकायले गरेको खर्चहरुको उचित बिल भर्पाइ छन् कि छैनन्
भनेर प्रमाणित गर्ने मात्रै हो । त्यो खर्च किन गरियो ? त्यसमा
लेखापरीक्षकले हेर्ने, सोध्ने वा अनुसन्धान गर्ने कुरा हुँदैन । बिल भर्पाइ
तयार गरी सधारणसभाबाट पास गरेको हिसाब किताबलाई हामीले खर्चमाथि प्रश्न
चिन्ह उठाउने कुरै हँुदैन नि ।
हो, एभरेष्ट इन्स्योरेन्स प्रकरणमा लेखापरीक्षण गरेकै कारण
साथीहरु पक्राउ परेपछि हामीले त्यसको विरोध गरेका हौँ । नेपाली समाज र
प्रहरी प्रशासनमा गलत बुझाइ छ कि लेखापरीक्षण गरिसकेपछि त्यसको सबै कुराको
जिम्मेवारी लेखापरीक्षकको हुन्छ भन्ने । त्यसो होइन, लेखापरीक्षकले त केवल
कम्पनी, संस्थाका कर्मचारी तथा मालिकहरुले बुझाएको हिसाब किताबलाई मात्रै
प्रमाणित गरिदिने हो । अर्गनाइजेशन वा कुनै पनि संघ संस्थाहरुले आफ्नो
कारोबारहरुको कस्तो अवस्था छ भनेर हिसाब किताब राख्ने जिम्मा त उनीहरुकै हो
। त्यो हिसाब राखिसकेपछि आर्थिक विवरणसम्म बनाउने काम संघ संस्थाहरुको नै
हो । उनीहरुले बनाएको आर्थिक विवरणले संस्थाको कस्तो वित्तीय अवस्थाको
चित्रण गर्दछ त ? यथार्थ र उचित चित्रण गर्छ कि गर्दैन भनेर हेर्ने हो ।
त्यो कारोबारको लागि बिल, भौचरहरु निर्माण गरी संस्थागत रुपमा पास भएका छन्
कि छैनन् भन्ने लगायतका कुराहरु हेर्दै लेखापरीक्षणको विधि अनुसार उक्त
हिसाबकिताब कस्तो छ भनेर प्रतिवेदन दिने काम लेखापरीक्षकले गरेको हुन्छ ।
लेखापरीक्षकले दिएको प्रतिवेदन हेर्दै नहेर्ने अनि हिसाब किताबमा छाप
लगाएको हेरेर कमेन्ट गर्ने गर्न थालियो भने हामीमाथि अन्याय हुन्छ ।
लेखापरीक्षणको मुुटु भएको प्रतिवेदन हो । त्यहाँ औँल्याएको कुराको पनि
अध्ययन गर्नु प¥यो नि । लेखापरीक्षकको प्रतिवेदनको वास्ता नै नगरी
हिसाबकिताब मात्रै ठीक छ भनेर हस्ताक्षर गरेको कुरालाई लिएर अगाडि बढ्दा
समस्या आएको हो ।
लेखापरीक्षकले प्रमाणित गरेका हिसाबकिताब पनि सही नहुन सक्छन् भन्न खोज्नुभएको ?
लेखापरीक्षकले छाप लगाउँदैमा ती हिसाब किताब सही हुन्छ
नै भन्ने होइन । लेखापरीक्षकलाई सम्बन्धित संस्थाले नियम अनुसार पास गरेर
दिएका बिल, भौचर नै गलत भएका रहेछन् भने त्यो गलत भयो नि । मूल उत्पत्तिको
थलोमा नै फट्याइँ भएको रहेछ भने त लेखापरीक्षकले त्यसको जिम्मेवारी लिने
कुरा हुँदैन । लेखापरीक्षक भनेको विभिन्न समान खरिद बिक्री तथा खर्च गर्ने
अख्तियारप्राप्त निकायले गरेको खर्चहरुको उचित बिल भर्पाइ छन् कि छैनन्
भनेर प्रमाणित गर्ने मात्रै हो । त्यो खर्च किन गरियो ? त्यसमा
लेखापरीक्षकले हेर्ने, सोध्ने वा अनुसन्धान गर्ने कुरा हुँदैन । बिल भर्पाइ
तयार गरी सधारणसभाबाट पास गरेको हिसाब किताबलाई हामीले खर्चमाथि प्रश्न
चिन्ह उठाउने कुरै हँुदैन नि ।
लेखापरीक्षकको काम चाहि के हो त ?
लेखापरीक्षकको काम भनेको संस्था, व्यवसायीले गरेको कारोबारको हिसाब
किताब लेखामान विधि अनुसार लेखांकन गरेको छ–छैन हेर्ने र नभएमा सुझाव
प्रतिवेदनमा राख्ने हो । उसले जिम्मा लिनुपर्ने, त्यहाँ भएको घोटालाको
जिम्मा लिने भन्ने होइन । गलत विधि रहेछ भने प्रतिवेदनमा उल्लेख गर्ने हो ।
लेखामान अडिटिङ स्ट्याण्डर्ड अनुसार लेखापरीक्षण गर्ने हो अनुसन्धान गर्ने
होइन ।
गलत गर्ने लेखापरीक्षकले कारबाही गर्ने निकाय कुन हो त ?
लेखापरीक्षकमाथि छानबिन गर्ने पनि निकाय छ । हो, सबै
लेखापरीक्षक सही र इमान्दार नहुन सक्छन्, त्यस्तालाई के गर्ने ? भनेर
कानुनले स्पष्ट गरिसकेको अवस्था छ । नेपाल लेखापरीक्षण ऐन २०३१, नेपाल
चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स नियमावली
२०६१ जारी भइसकेको छ । त्यस्तै कुनै पनि लेखापरीक्षकले लेखापरीक्षण गरेको
वित्तीय विवरणमाथि प्रश्न उठेमा त्यसको नियमनको लागि नेपाल चार्टर्ड
एकाउन्टेन्ट्स संस्थामा उजुरी दिन सकिने र त्यस्ता लेखा परीक्षक दोषी
पाइएको अवस्थामा कारबाहीको भागिदार पनि हुनसक्नेछ । साथै गलत गरेको
प्रमाणित भएमा त्यस्ता विरुद्धमा छानबिन तथा दण्ड जरिवानाको समेत कार्यविधि
तय भई लागू भइसकेको छ । कानुन अनुसार जसरी डाक्टरहरुका विरुद्ध सुनुवाइ
गर्ने मेडिकल काउन्सिल छ, पत्रकारहरुका विरुद्धमा उजुरी सुन्ने प्रेस
काउन्सिल छ, त्यस्तै लेखा परीक्षकहरुको विरुद्धमा पनि सुनुवाइ गर्ने अदालत
सरह मान्यता प्राप्त संस्था नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था छ । सबै
कुराको छिनोफानो त्यही हुनुपर्दछ । अब उक्त संस्थाले कत्तिको सक्रियता
देखाउन सकेको छ, बरु त्यसको समीक्षा हुनसक्छ । अहिले हामीले कारबाहीको
विरोध गरेका होइनौँ, केवल प्रक्रियाको विरोध गरेका हौँ । प्रहरीले हठात्
पक्राउ गरेर कोही पनि लेखापरीक्षकलाई हिरासतमा राख्नु हुँदैन भन्ने हाम्रो
मान्यता हो । एभरेष्ट इस्योरेन्स प्रकरणमा पक्राउ परेका लेखापरीक्षक
साथीहरुलाई तत्काल नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थालाई बुझाउनुपर्दछ
भन्ने हाम्रो माग हो । यही भएर नेपाल चार्टर्ड एकान्उटेन्ट्स संघ र नेपाल
अडिटर्स एशोशिएन दुबै पेशागत संघ–संगठन संघर्षमा आउनु परेको हो । गल्ती
गर्ने लेखा परीक्षकलाई जेल हाल्नु पनि पर्दछ, तर त्यो निकाय भनेको नेपाल
चार्टर्ड एकाउन्टेन्ट्स संस्था मात्रै हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था त यो विषयमा बोलेको देखिएन नि त ?
धेरै लेखापरीक्षक साथीहरुले यही आरोप लगाएका छन्, लेखा
परीक्षकहरुको नियमनका लागि स्थापना भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स
संस्थाले यो घटनालाई बेवास्ता गरेको भनिरहेका छन् । हुन त केही गरिरहेको
पनि हुनसक्छ । तर, मैले पनि बाहिरबाट हेर्दा केही गरेको चाहिँ देखेको छैन ।
अधिकार भएको निकाय मौन बस्ने अर्को निकायले हस्तक्षेप गर्दै जानु भनेको
‘बुढी मरी भन्दा पनि काल पल्क्यो’ हुनु हो ।
लेखापरीक्षणमा आइपर्ने अप्ठेराहरू के–के हुन् ?
धेरै अप्ठेराहरु छन् । पहिलो कुरा त, नेपालमा राम्रोसँग लेखा राख्न
सक्ने जनशक्ति नै तयार भएका छैनन् । लेखापालहरुलाई लेखामान विधि नै
राम्रोसँग ज्ञान नहुँदा सबै कुरा लेखापरीक्षकले गरिदेओस् भनिरहेका छन् ।
सन्तुलन परीक्षण, वासलातदेखि आर्थिक विवरणसम्मको काम लेखापालले गर्नुपर्ने
काम हो । तर, त्यसो गर्दै गर्दैनन् । लेखापरीक्षकहरु फस्नुको एउटा कारण
लेखापालहरुको कमजोरी पनि हो । लेखाको विधि नै नजानेका यहाँ लेखापाल भएर काम
गरिरहेका छन् । राम्रोसँग भ्याट बिल नै काट्न नजानेकाहरुले लेखाको
जिम्मेवारीमा हुन्छन् अनि लेखापरीक्षकले दुःख त पाउने नै भयो नि । नेपालमा
लेखा व्यवसाय सक्षम भइसकेको अवस्था होइन । लेखा व्यवसाय सक्षम नहुँदासम्म
यस्तो समस्या रहन्छ ।
नेपालमा व्यावसायिक इमान्दारिता कत्तिको देख्नुहुन्छ ?
नेपालमा आर्थिक पारदर्शिता र व्यावसायिक इमान्दारिता भन्ने
छैन । कर्मचारीहरुमा देशको सेवा, राष्ट्रको सेवा गर्नुपर्दछ भन्नु भन्दा
पनि आफ्नो तलब चाहिँ स्थायी आम्दानी हो, काम गरेको घुस चाहिन्छ भन्ने
मनोवृत्ति हावी भएको देख्न पाउँछौँ । यही अवस्थाभित्र रहेर अडिटरले कति
गर्न सक्छ, यो हिसाबले हेर्दा नेपालको आर्थिक वृद्धिदरमा तत्काल परिवर्तन
आउने देखिँदैन । पारदर्शी लेखा, पारदर्शी लेखापरीक्षणले मात्रै
अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न सक्दछ । वैदेशिक लगानी बढाउने हो भने
आर्थिक पारदर्शितामा जोड दिनुपर्दछ । जबसम्म पारदर्शी लेखा प्रणालीको विकास
हुनसक्दैन तबसम्म मुलुकको आर्थिक वृद्धिदरले ठूलो फड्को मार्न सक्दैन ।
लेखापरीक्षणको अन्तर्राष्ट्रिय अभ्याससग नेपालको तुलना गर्दा कस्तो पाउनुहुन्छ ?
यो एकदमै महत्वपूर्ण कुरा हो । नेपालमा लेखापरीक्षकहरु धेरै नै
अन्तर्राष्ट्रिय स्तरका छन् । अन्तर्राष्ट्रिय जगतमा भएका सबै नवीनतम
प्रयोगहरु नेपालमा अभ्यास भइरहेका छन् । नेपालको लेखापरीक्षण गर्ने विधिलाई
दोस दिने ठाउँ छैन ।
अन्त्यमा लेखापरीक्षकहरूलाई के भन्न चाहनुहुन्छ ?
लेखा परीक्षणको आधारभूत सिद्धान्तभन्दा बाहिर गएर जो–कोही
लेखापरीक्षकले लेखा परीक्षण नगर्नुहोला । सिद्धान्त र मान्यताभन्दा बाहिर
गएर लेखा परीक्षण गरेका लेखा परीक्षकहरुलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स
संस्थाले कारबाही गरेको खण्डमा पेशागत संघहरु आन्दोलनमा आउने छैनन् भन्ने
कुरा ख्याल गर्न अनुरोध गर्दछु । लेखा परीक्षण गरिएकै आधारमा कोही लेखा
परीक्षकलाई दोषी करार गर्न नेपाल चार्टर्ड एकाउन्टेन्ट्सभन्दा बाहिरको बाटो
खोजिन्छ भने त्यस्तो कुरा कदापि स्वीकार नगरी एकजुट भएर प्रतिवाद गर्न
तयार रहनुहोला ।
प्रतिक्रिया दिनुहोस्