Skip to content

‘उ’ र उ सँगका अनुभुतीहरु ! सिए विधार्थी प्रवेश आचार्यको कथा

दिल्ली, बिहान साढे चार बजे
सुत्न सकिन, बरण्डामा निस्किएं । दिल्ली मस्त निद्रामा थियो । पढ्न लागेको मन बिथोलियो । मनमा अनेक तन्द्राहरु मडारिए । एकछिन बरण्डाकै फलामे बारमा कुइना अढ्याएर आँखाले भेट्ने जती हेरी रहें, उदेग लाग्दा कंक्रीटका गगनचुम्बी महलहरु, महलको टाउकोमा टुप्पी जस्तै अड्किएका मोवाईलका टावरहरु, बिहानिले रङ्गिन बन्दै गरेको टिठलाग्दो क्षितिज ।
मेरो हेराईकै दिशा तिर बाट कुँद्दै गरेको रेलको चिच्चाहट सुनियो । आवाजकै पछी पछी एक झोँक्का हावा आफैले पातलो बनाएको हुस्सु बोकेर मेरो शरिरमा ठोक्कियो । चिसोले भित्रै आँत कँपायो, शरिरमा एउटा पातलो सर्ट थियो । भित्र गएर ज्याकेट लगाउन पनि अल्छि लाग्यो, हत्केलाले जाडो रोक्ने असफल प्रयत्न गरेर एकै ठाउँ उभिरहेँ ।
सधैं कुनै मिसनमा दौडधुप गरिरहेको सिपाही जस्तै ब्यस्त देखिने घर अगाडीको सडक कुनै गती बिना लामो निद्रामा लम्पसार परेर पल्टिएको थियो । वल्लो पल्लो चोकमा एक दुई वटा भुस्याहा कुकुर हावाले सर्याक सुरुक पारेका प्लास्टिकका बोटल पछाडी भुक्दै दौडिरहेका थिए । फेरी हावाको आतँक सुरु भयो, यो पल्ट घर अगाडिको निमको बोटका पातहरु पनि हल्लिन थाले ।चिसोले गर्दा बरन्डामै रहेको परेवाको गुँडमा भर्खर प्वाँख उम्रीएको परेवाको बच्चाले आफ्ना प्वाँख भटे भटे पार्यो । एक जोडी माउ परेवा भने नजिकैको  बिजुली पोलसँग गुजुल्टिएको कालो तारमा लाटोकोशेरो जस्तै झोँक्रीएर बसेका थिए ।
कोठा भित्र छिरेँ,ज्याकेट लगएँ । किचन छिरेँ, कालो चिया बनाएँ । चियामा अलिक धेरै मरिचको धुलो परेछ, जाडोको समय छ ठिकै त होला अलिक गुलियो बढाएँ । आफ्नो पढ्ने टेवलमा फर्किएँ, कितावका पानाहरु पल्टाएँ उहुं पढ्न मन लागेन, नोटबुक खोले तर के गर्ने ? कुनै टुँङोमा पुग्न सकिन, कुर्ची तानेँ फेरी उहि चिसो बरण्डामा निस्किएँ । आकास अलि धेरै नै निलो भैसकेछ । नजिकैको मस्जिदबाट बिहानिको प्रार्थाना सुनियो । एउटा हकर आएर घरको बरण्डामा आजको पत्रीका फालेर पल्लो मोडबाट भित्र पस्यो । एउटा सानो मरुती दुध बोकेर सडक छेउँछाउँका पसलमा निला क्रेट खसाल्दै बेपत्ता भयो । 
बिहानको छ बज्दै थियो, ल्यापटपमा हेडसेट जोडेँ । ‘वाईफाई’ बन्द रहेछ फेरी भित्र कोठामा छिरेँ, ‘अन’ गरेर बरण्डा फर्किएँ । नेपालबाट रेडियोमा बिहान छ बजेको समाचार सुन्दै ‘ई:मेल’ खोलेँ । कुनै बिज्ञापन कम्पनीबाट भद्दा जोक जोडिएका बिज्ञापनले ‘इनबक्स’ भरेछ, हेर्दै नहेरी डिलिट मर्दिएँ । फेसबुक खोलेँ केहि छोँटा र रमाईला ‘स्टाटस’ पढ्न भ्याएँ । ‘ईनबक्स’ हेरेँ, एउटा परिचित अनुहारको अपरिचित सन्देश थियो । “ मलाई माफ गर है ! तिमीले मलाई बुझ्ने छौ, हाम्रो अमूर्त सहयात्रालाई बुझ्ने छौ, समयलाई बुझ्ने छौ र यो कुरा ढुक्क बन्नु कि, म तिमीलाई बुझ्ने छु“।
उज्यालो हुँदै गरेको आकास फेरी अंध्यारियो । रातो र निलो हुँदै जिस्किएको क्षितिज फेरी कालो बन्यो । बाक्लो कुहिरोले आकास डम्म छोप्यो । निमका हाँगा नचाउँदै एक कोहोरो हावा बग्न थाल्यो । कुकुर चिसोलो साना साना गल्ली छिर्न लागे । मेरा औँला नोटबुककै किबोर्डमा स्थिर भए । हृदयमा पिडा भरियो भने त्यसले शब्दहरु सँग को साइनो बिर्सँदै जाँदो रहेछ । लेख्नको लागी शब्द मसँग थिएनन । एक कोहोरो टोलाई रहेँ । उसलाई दिने जवाफ म सँग भएन, तै पनि बधाई छ लेख्छु भन्ने सोच ले किबोर्डमा मैले औँला चलाएँ, तर अफसोच, मैले उसको सन्देश हेरेको थाहा पाउने बित्तिकै उसले आफ्नो अकाउन्ट डिएक्टिवेट गरिछ । हत्केलालाई मुठ्ठी पारेर पछाडिको भागले आँखामा जमेको चिसो पुछेँ ।
‘उसको र मेरो सम्ंबध के हो?’ धेरै पल्ट यो प्रश्न मनमा खेले पनि, म कहिले यसको उत्तर खोज्ने प्रयत्न गरिन । करिव आधा दशक लामो हाम्रो यात्रा सुरुवाती केहि पलहरु मा औपचारिक बने पनि पछी अनौपचारिक बन्दै गयो । उ सँगको संवन्धको कुनै परिभाषा थिएन । उ मेरी साथी भन्दा माथि थिई तर मेरी प्रेमिका  बनिन । यती लामो यात्रामा केहि छोँटा र आकस्मिक पल भन्दा बाहेक कहिले पनि उसलाई भेट्न सकिन । प्रत्क्षय भेटेर सायदै केहि कुराहरु हुन सके होलन तर पनि मेरो उदेगलाग्दो र अव्यबहारिक जिन्दगीलाई आफ्नै सम्झेर मौन रुपमा झेल्दै रही । उसले कहिले मसँग केहि मागिन् तर मेरो लागी धेरै आँशु बगाईरही । आफ्ना आँशुका ढिक्काहरु मा मलाई खोज्दै रही । आफ्ना मौन सुस्केराहरु मा मलाई गाउँदै हिंडी । सायद अन्तिम पल सम्म पनि चुपचाप म भित्र आफूलाई खोज्दै थिई ।
म सिए को लागी दिल्ली ओर्लिएको केहि समय पछाडी हाम्रो पुरनो औपचारिक संबन्धलाई साक्षी राखेर उ मलाई फेसबुकको ‘ईन्बक्स’ मा जिस्काउन आएकी थिई । घरी बच्चाजस्तो ढिपी लिएर मलाई दिक्क पार्थी घरी प्रेमिका जस्तो मलाई घुर्काउँथी । कहिले रिसिएको बाहनामा दिनहुँ फेसवुक बाट गायब हुन्थी । कहिले लाडिएर जिस्काउंदै रातभर मलाई फेसवुक मै झुलाउँथी । कहिले आमाले जस्तै सम्झाउँथी । कहिले बुवाले जस्तै गाली गर्थी । म बिरामी भएको कुरा उसले कम्पुटरको स्कृनमा मेरो अनुहार हेरेर पत्ता लगाउँथी । रातमा दर्जनौँ पल्ट मलाई सम्झाउँथी , मेरो औषधीको प्रत्यक घुट्काहरु मा टाढै बसेर निगरानी राख्थी । सावनका सुरुवाती दिनहरुमा मलाई आफूले लगएको हातको मेहन्दी देखाउँदै फुर्काउँथी । केहि दिनमा आफ्ना हातका हरिया चुरा बजाउँदै गिल्लाउंथी । तीजको दिन तिम्रो लागी ब्रत बसेको भन्दै आफै लाजले आँखा छोप्थी र अनलाईनमै घोप्टो परेर खित्खिताउँथी । फुरुङ परेर बेलुन जस्तो हावामा उडेको मलाई, तिमी त्यती भागयमानी छैनौ भन्दै बेलुनमै प्वाल पार्ने गरी भुईमा पछार्थी ।
२०११ को डिसेम्बरको महिना थियो । म भर्खर सिएको ‘ईन्टर’ लेवल सकेर  ट्रेनिङको लागि कार्यालय सुरु गरेको थिएँ । जाडोको समय म बिरलै दिल्लीमा हुन्थेँ । अडिटको लागी उत्तरान्चलको एउटा राष्टृय निकुन्ज भित्र औषधी उत्पादन कारखानामा थिएँ । त्यो बेला मलाई २० दिन सम्म फोन र ईन्टरनेटबाट टाढा रहनु पर्‍यो । ओशोको बिपासना केन्द्रमा बसे जस्तै । जङ्गली जनावर र स्थानिय मजदुर भन्दा अरु कोई सँग मेरो सम्पर्क हुन सकेन । २० दिन पछाडी उत्तरान्चलको रानिखेत पुगेर मैले मेरो ई:मेल र फेसवुक खोलेँ । दर्जनौँ ‘ई:मेल’ र सन्देशले मेरो ‘फेसवुक’ र ‘ई:मेलको’ ईन्बक्स भरिएको थियो । दर्जनौँ ‘फ्रेन्ड रिक्वेस्ट’ फेसबुकमा देखिए । त्यही साथीहरु को भिडमा उ पनि  थिई ।
मेरो फेसबुकको उपस्थिती थाहा पाउने बित्तिकै उसले गुनासो भरिएको सन्देस फेसवुकमा हुत्याई,” १५ दिन भयो म तिमीलाई कुरेको, लागेको थियो तिमी मलाई उपहास गरेका हौ ।” मैले उ सँग बास्तविकता ओकेलेँ । तर अफसोच म सँगका हरेक समय उ गुनासो गर्दै रही र अन्तिममा पनि गुनासो गरेरै म सँग टाढा बनी ।
सानोमा मैले उसलाई देखेको थिएँ, मेलाहरुमा । कानको माथिनेर दुईवटा रातो रिवनको चुल्ठो बाँधेर पुतली जस्तै हिँड्थी । मैले गाउँ छोड्दा सम्म उ सँग एक पल्ट पनि बोलेको मलाई याद छैन । उसले त भन्दै थिई तिमीलाई त राम्रो सँग देखेको पनि याद छैन भनेर । सुन्दरता उसको पहिचान थियो त्यसैले मैले उसलाई चिनेको थिएँ । म सँग उसले चिन्नु पर्ने त्यस्तो केहि थिएन त्यसैले उसले मलाई चिनिन ।
लगातार फेसवुकमा उसको उपस्थिती र मेरो खाली समयले उसको र मेरो आत्मियता बढाउँदै लाग्यो । उ आफ्ना कुरा भन्दा पनि मेरा कुराहरु धेरै सुन्थी । डेड बर्ष सम्म हामी फेसबुकको ईन्बक्स मै सिमित रह्यौँ । कुराको कुनै परिधी थिएन । समयको कुनै मापन थिएन । गफिँदै रात बिताई दिन्थ्यौँ,  दिन जान्थ्यो ।  म २-४ दिन ईन्टरनेटबाट हराउँदा पनि प्रतेक रात मलाई कुरेर बस्न थालेकी थिई । कैयौँ पेज आक्रोसका सन्देशहरु ईन्बक्समा छोडेकी हुन्थी । आसयमा ‘आक्रोस’ भन्दा पनि ‘पिडा’ नै भरिएको हुन्थ्यो । पछी म सँग रिसाउँथी , बिस्तरै रुन पनि थाली । मैले कहिले पनि उसको यो परिवर्तनको र आत्मियता कारण जान्ने प्रयत्न गरिन , सायद म उसलाई बुझ्ने कोसिस गरिन या ब्यस्तताको ढोङँ रचेर आफुलाई अन्तै मोड्ने प्रयास गरेँ ।
मध्य जुलाईको एउटा रापिलो मध्यन्नमा उसले मलाई फोन गरी । म दिल्लीमै थिएँ । सधै उत्साह भरिएको आवाजमा त्यो बेला मलिनताका अदृश्य रङहरु घोलिएका थिए । आवज भित्र एउटा नदेखिने गहौँ पिडा थियो । मेरो मन चसक्क भयो । सधै छिल्लिने र चिडाउने उसको आवाजलाई आज अचानक के भयो ?  मैले उसलाई सोधेँ, उसले केहि पनि भन्न चाहिन । उसको स्वर काँप्दै थियो । मैले धेरैबेर उसलाई सम्झाएँ, उ फोनमै सुक्सुकाउन थाली । केहि बेर पछी उसले आफ्नो बोलीमा गर्ह्रौँ पिडा भर्दै बोली “मेरो घरमा बिहेको कुरा चल्दै छ!”
म शून्य बनेँ । मसँग उसलाई सम्झाउनको लागि केहि शब्द थिएन । म निरुत्तरित उसको यो अन्योलताबाट पन्छिने प्रयत्न गरेँ, किनकी मसँग उसको यो अवस्थालाई पार गर्न सक्ने केहि जवाफ थिएन । म आफै अताल्लिएको थिएँ । पहिलो पल्ट मैले अनुभुती गरेँ, “म भित्र पनि केहि अदृश्य पिडा बढ्दै थियो । म आफूमा प्रष्ट थिईन आखिरी मैले के खोजेको छु ।“केहि दिन सम्म उ ईन्टरनेटबाट बेपत्ता भई । उसले आफ्नो फोन पनि बन्द राखेकी थिई ।
उ केहि दिनपछी फेरी फेसवुकमा भेटिई । ‘ईन्बक्स’ मै  कुरा गर्दै थिई, पछी मोबाईलमा फोन गरी । उसको स्वरमा कुनै उत्साहा थिएन । कुनै गहिरो अन्योलताबाट गुज्रीरहे जस्तो,केहि लुटिए जस्तो । उ सधै भन्दा फरक, औपचारिक बन्दै गई । बोल्दा बोल्दै अनायासै बिचमै रोकिई र सायद उ आफ्नै आँखाबाट पानी बनेर बग्दै थिई । म आफैमा निसास्सिएको थिएँ । न त मसँग उसलाई सोध्न सक्ने कुनै प्रश्न थियो न त उसले  सोध्न सक्ने प्रश्नको जवाफ नै । लामो मौनतालाई चिर्दै मैले नै उसलाई प्रश्न गरेँ ” ठिकै छौ ?” केहिबेर उताबाट केहि जवाफ आउन सकेन । केवल उसले तान्दै गरेको लामो स्वाश मेरोलागी  मौन जवाफ बन्दै थियो । “बिहे हुने पक्का भयो ?” मैले उसलाई फेरी प्रश्न गरेँ । उसले आफ्नो बित्रीएको स्वरले मलाई नै प्रती-प्रश्न गरि, “तिमी रोक भन्न सक्छौ ?” मलाई एकसाथ हजारौँ कमिलाले टोके जस्तो भयो । उसको प्रश्नमा एउटा अदृश्य प्रेमको याचना थियो । एउटा प्रस्ताब थियो । उ चाहन्थी म उसलाई बिहेबाट रोकुँ, उसलाई भन्न सकुँ कि ‘म तिमीलाई माया गर्छु’ । म मौन रहेँ, केहि बोल्न सकिन । म उसलाई माया गर्छु या गर्दिन म आफैमा प्रस्ट थिईन । म उसलाई माया गरे पनि म उसलाई आफ्नो बनाउन सक्ने थिएन । हुनत कुनै कविले भनेका थिए,प्रेममा कुनै पनि कुराको बन्देज हुँदैन । तर म प्रेममा निरपेक्ष थिईन ,सापेक्ष थिएँ । यो कुरा उसले पनि बुझेकी थिई । तर पनि उसले केहि आशाको त्यान्द्रो म मा खोज्दै थिई । 
मेरो मौनता भित्र उसले आफ्नो जवाफ भेटाई जस्तो ठानेँ । उ सुक्सुकाउँदै फोन काटी । मैले धेरै प्रयास गरेँ तर अफसोच उसको फोन कहिले पनि मेरो लागी खुला हुन सकेन । फेसबुक हेरेँ, त्यो पनि बन्द थियो । मलाई लाग्यो अब उ, म बाट टाढा हुँदै छ ।
केहि महिना सम्म पनि मैले उसको बारेमा कुनै जनकारी पाउन सकिन । सम्पर्कको लागी गरेका मेरा हर प्रयास व्यर्थ बन्दै गए । उ आफ्नो घर फर्किई या अध्ययनको लागी बाहिरै छ त्यो पनि मैले थाहा पाउन सकिन । सेप्टेम्बरको कार्यालायको ब्यस्तताले मलाई दिल्लीमा नै अल्झायो । क्रमस: उ मेरो यादमा कम हुँदै गई । उसको बिहे भैसक्यो या अझै भएको छैन त्यो पनि मलाई थाहा लाग्न सकेन ।
अक्टोबरको पहिलो हप्ता म दशैँको लागी नेपाल फर्किएँ । करिव एक महिना म गाउँमै बसेँ । बर्ष भरी कै थकाई मेटाए जस्तो । म कोईसँग पनि सम्पर्क नगरि चुपचाप मेरो सानो परिवार सँग अल्झिएँ । त्यो बिच मलाई दिल्लीबाट कार्यालयले सम्पर्क गर्ने प्रयत्न गरेछ तर कोई सँग पनि म सम्पर्कमा थिईन । दिल्ली फर्किए पछी धेरै गुनासो सुन्नु पर्‍यो । अन्तत मैले माफी पनि माग्नु पर्यो ।
दिल्ली फर्कन केहि दिन बाँकी थिए । आफ्नो परिवार र आफन्तको सानो परिधी बाहेक मेरो अन्यत्र सम्पर्क हुन पाएको थिएन । दिल्ली फर्किनु भन्दा केहि दिन पहिले मैले बाँकी साथीहरु तथा शुभचिन्तकहरु सँग सम्पर्क गर्ने मनसायले फेसबुकमा आफ्नो नंवर हालेँ ।
म दिल्ली फर्किने तयारी गर्दै थिएँ । एक दुई दिन मात्रै बाँकी थिए,मेरा नेपाल बसाईका । एक दिन अचानक मेरो मोवाईल अपरिचित नंवरले घन्टी हान्यो ।  फोन उठाएँ तर उताबाट कुनै आवाज आएन । पृष्ठभुमीमा चराहरु कराएको आवाज सुनिँदै थियो । सोचेँ म सँग कोही जिस्किँदै छ । धेरै बेर पछी एउटा लामो श्वास फेरेको आवाज सुनेँ । आवाजसँग अभ्यस्त भए जस्तै लाग्यो । मैले कुनै लामो प्रतिक्षा बिना सजिलै चिनेँ, फोनमा उ थिई । मेरो मन चिसो भयो । कान दुम्मिए जस्तो भयो । मैले उसकै नामले सँबोधन गरेँ  । तर अफसोच, नत उसले कुनै जवाफ फर्काइ नत मैले अरु केहि सोध्न सकेँ । म पनि चुपचाप मोबाईल कानमा राखेर उभिईरहेँ । यस्तो लाग्दै थियो ,कुनै आदिम देशबाट एउटी बेनामे अप्सरा मलाई मेरो मनले मात्रै बुज्ने भाषामा आफ्ना पिडाहरु खोल्दै थिई । म चुपचाप उसका गुनासाहरु अनुभव गर्दै थिएँ ।
धेरै बेर सन्नाटा पछी उसले जोडले हिँक्का छोडी र अरु केहि बोल्दै नबोली फोन काटी । मेरो मुटु भरिएर आयो, खुट्टाले भुँई नटेक्ला जस्तो भयो । माथी आकास तिर हेरी रहेँ । एक जोडी चखेवा उड्दा उड्दै ठोकिएर दुई बिपरित ध्रुवतिर लागे । अगाडी सयपत्रीको बोट थियो । एक ढिक्का आँशु मेरो आँखाबाट बगेर सयपत्रीकै थुङाँमाथी खस्यो । सित पोखिएको फूल सम्झेर टिपेँ र जतन साथ राखेँ । लाग्यो त्यहाँ मेरो आँशु बनेर उ बसेकी छ ।
म धेरैबेर टोलाएर बसिरहेँ। फेरी उसलाई फोन गरेर बोल्न सक्ने हिम्मत ममा थिएन । ‘म कायर थिएँ? आखिरी मैले के चाहेको हुँ?’ लगतार मैले यो प्रश्न आफूलाई सोधी रहेँ । जो मेरो लागी कैयौँ रात सिरानी रुझाएर बसी । जो अरुको हुँदै छ र पनि मलाई सम्झिएर आफूलाई पिडाहरु ले चोथोर्दै छे । उसँग एक पल्ट बोल्ने शक्ती पनि म मा थिएन । लगत्तै मेरो मोबाईलमा उसको सन्देश आयो ।‘म तिमीलाई एक पल्ट भए पनि भेट्न चाहान्छु । कृपया नाई नभन्दिनु है!’
म दिल्ली फर्कँदै गर्दा उसकै शहरमा मैले उसलाई भेटेँ । मध्यन्नको समय थियो । नजिकैको मन्दिरमा घन्टी बजेको आवाज सुनिदैँ थियो । सान्त थिए उसका आँखा । एउटा हातले अर्को हातका औँलाहरु खेलाई रही । न त उसले मलाई राम्रो सँग हेर्न सकि, न त ममा नै त्यो हिम्मत आयो । एउटा ठुलो पिपलको बोट मुनी हामी उभिएका थियौँ । एक जोडी सुगा आएर पल्लो डाँडा तिर बेग हाने । बोटबाट पित्रीक्क एउटा पिपलको गेडो खसेर उसको कपालमा अड्कियो । उ त्यसलाई समाल्न बस्त बनी । यहिँ मौका छोपेर मैले सुटुक्क उसलाई चोरेर हेरेँ, तर चोरि लुक्न सकेन । उसका आँखा सँग मेरा आँखा ठोकिए । कपाल को बहेली भित्र अल्झिएका उसका औँलाहरु चल्मलाsउन छोडे । न उसले आफूलाई हटाउन सकी न त मैले आफूलाई नै टाढा भगाउन सकेँ । उसको खाली ताल जस्ता ठूला आँखामा पानी भरिँदै गयो । राजहाँस तैरिरहे जस्तो देखिने मेरो आफ्नै बिम्ब उसको आँखा भित्र चल्मलाई रह्यो । म बोल्न सकिन, एकै बिन्दुमा शिवलिङ जस्तो गडिएर उभिरहेँ । बिस्तारै उसले आफ्नो ओठमा मुस्कान भर्ने प्रयत्न गरी । खै ! मैले बुझ्नै सकिन, उसले हाँस्ने अभिनय गरेकी हो या अभिनय गरेकोमा हाँस्दै छ ।
म केहि बोल्न सक्ने स्थितीमा थिईन । उसले नै आफ्ना आँखाभरी आशु भरेर बोली । “मलाई अब कुनै गुनासो छैन । तिमीसँग नजिक भएको दिन देखी तिमीलाई माया गर्न लागेकी हुँ, जहिले सोचेकी हुन्थेँ, तिमीले मलाई बुझ्ने छौ । मेरो चाहाना बुझ्ने छौ । मेरो मन बुज्ने छौ । तर त्यस्तो हुन सकेन । पछिल्लो समय त मलाई यस्तो लाग्दै थियो कि तिमीलाई माया गर्छु भन्न नपाउँदै तिमी टाढिने भयौ । तिमी मलाई माया गर्यौ या गरेनौ, त्यो त मैले जान्न सकिन । तर तिमीलाई मात्रै मैले आफ्नो ठानेँ । केहि दिन पछी म अर्कोको बन्दै छु, थाहा छैन अब तिमी सँग बोल्न पनि पाउँछु कि पाउँदिन तर जिन्दगी भर तिमी मेरो याद बनेर रहने छौ । यदी म तिम्रो मनमा पनि यसरि नै रहन सकेँ भने सोच्ने छु, म गलत थिईन । यदी त्यसो हुन सकेन भने पनि तिमीसँग मेरो कुनै गुनासो रहने छैन । म तिम्रो सफलताको लागी सँसारको कुनै कुनामा प्रार्थाना गरिरहेकी हुनेछु ।” 
मैले घोप्टो परेको मेरो टाउको उठाएर उसलाई हेरेँ । म भन्दा केहि फिट पर उभिएकी थिई । उसका आँखाबाट आँशुको बाढी बगीरहेको थियो । गालाको माथिल्लो भागमा गाजल बगेर लत्पतिएको थियो । दुबै हातले रुमाल समातेर आफ्नो मुखलाई छोपेकी थिई । मैले आफूलाई सम्हाल्न सकिन आँखाबाट पानी बनेर बग्न लागेँ । म जोडले आँखा चिम्लिएँ । हातलाई मुठ्ठी पारेँ र पछाडीको भागले मेरो मुख बन्द गरेँ ।
अकस्मात  उ मेरो नजिक आई र यन्त्रवत आफ्नो टाउको मेरो काँधमा छोड्दिई । मैले पनि थाहा नपाई एउटा हातले पछाडी पट्टीबाट उसको कम्मरमा सहारा दिएँ । उसले लगातार हिँक्का छोड्दै थिई । मैले आँखा चिम्लिएको थिए । हावाका झोँक्कासँग लहराउँदै गरेको उसको कपालाले मेरो अनुहार भरी स्पर्स गर्दै थियो । उसले दुबै हातले जोडसँग मेरो कम्मर अठ्ठाई र पुरै शरिरको भार म माथी छोड्दिई । म रुखको आड लागेर उभिएको थिएँ । उसको कालो गाजल मेरो सेतो टि:सर्टमा लत्पतियो । अचानक उसको निदारमा मेरो ओँठ जोडिए । उसले जोडसँग मेरो टि:सर्ट समाती र पुरै आँखा चिम्लिई । उ काँप्दै थिई, मैले बल्लतल्ल उसलाई आफूबाट अलग गराएँ । उ नजिकैको सानो ढुङ्गा माथी बसी । उसले आँखा खोल्न पाएकी थिईन । मैले आफूलाई समालेर केहि नबोली त्यहाँबाट हिडेँ ।
करिव एक सय मिटर पर पुगेर उसलाई फर्किएर हेरेँ, उसले एउटा हातले मुख छोपेर अर्को हात म तर्फ हल्लाउँदै थिई । मलाई धेरै टाढा पुग्नु थियो । तर उसलाई हात हल्लाएर बिदाई पनि भन्न सकिन । गाडी छुट्न लागेको थियो । म आफ्नो सिटमा बसेँ । दिमाग शुन्य थियो । सबै अँध्यारो लाग्दै थियो । केहि बेर निदाए जस्तो भएँ । सायद बेहोसी बनेँ होला । ब्युझँदा गाडिले करिव एकसय किलोमिटर यात्रा तय गरेसकेको थियो । एक बोटल पानी एकै घुट्कामा रित्याईदिएँ । गोजाबाट मोवाईल झिकेँ र उसलाई सन्देश पठाएँ,” बिदा मेरी बेनामे अप्सरा, तिमी पनि सधै भरी मेरो याद बनेर रहने छौ ।” गाडीको रफ्तार बढ्दै गयो । उ मबाट टाढा हुँदै गई । हजारौँ किलोमिटर टाढा । सायद सडकको दुरी सँग उसको र मेरो जिन्दगीको पनि दुरी बढ्दै थियो ।

प्रतिक्रिया दिनुहोस्