सिए सरोकारले सुरु गरेको सिए सप्ताहदेखि लिएर विश्वका अरु लेखा संस्थाहरुसँग सम्झौता (एमओयु) हस्ताक्षर प्रयासहरु नियाल्दा, अब आइक्यानले नेपालमै बसेर सिए अध्ययन गर्दापनि विश्वस्तरीय शिक्षा हासिल गर्न सकिन्छ भन्ने संदेश दिदैछ र यो एकदम प्रसंसनीय छ । अनि नेपाली भएको नाताले खुला मनले यी प्रयासहरुको स्वागत पनि गर्न मन लाग्छ ।
तर केहि वर्ष अगाडी आइक्यानको शिक्षाको यो स्तर नहुँदा वा सिए अध्ययनको बारेमा परामर्श लिंदापनि सबैतिरबाट आईसीएआईबाटै सिए गर्दा राम्रो हुने सल्लाह पाएर दिल्ली गएका हामीजस्ता नेपाली विद्यार्थीहरु देशनै नफ़र्किउनझैँ गरी बनाइएको एक बर्षे रि-आर्टिकलसिपको बारेमा पनि आइक्यानले एकपटक पुनर्विचार गरे धेरै सक्षम जनसक्ति दिल्लीबाटै अस्ट्रेलिया, क्यानडा, दुबई लगाएतका मध्य पूर्वी देशहरुमा भिसा लगाऊन छोडेर नेपाल फर्किन्थे कि ?
नेपालको कर कानुन लगायतको विषयमा जानकारी दिनकै लागि हो भने बरु ३ महिना / ६ महिना सम्मको कुनै ‘संयन्त्र’ बनाउन पनि सकिन्छ हैन भने पनि ३/६ महिना सम्मको अबधि बरु ठिकै मान्न सकिन्छ तर एक त नेपाल मा सिए फर्महरु थोरै भएको अवस्था अनि रि-आर्टिकलसिपकै लागि पनि फर्म नपाउने अवस्थाका काराव वा साधारण सदस्यताको लागि पनि १ वर्ष रि-आर्टिकलसिप गर्नुपर्ने बाध्यताले गर्दा बरु बाहिरै सेटल हुन कोसिस गर्ने चलन बढ्दो छ र यि जनसक्ति भविष्यमा पनि फर्कने छैनन् ।
यसरी मध्यममार्गी बाटो खोज्न छोडेर आइक्यानले सिधै ढोका बन्द गरिदिदा, यहाँ पढेर फर्कने सिएहरुलाई नेपाली सिए बजारमा पनि खासै राम्रो अवसर पाउन नसकिने अवस्था आएको छ । नीति निर्माणको तहमा बस्ने समझदार कुनै पनि व्यक्तिले सरोकार वालाहरुसंग राय नै नलिई बनाइएको यस्तो प्राबधान कति उचित छ भनेर विश्लेषण गर्ने समय आएको छ ।
हामी नेपालीहरु अत्तिनै राष्ट्रवादी हुन्छौ र विदेशनै गए पनि जे-जति देखियो सिकियो त्यो नेपाल भित्र्याउने सोच बोकेका हुन्छौं । कुनै पनि तह तप्काका नेपालीलाई यसरी पराइझैँ बनाइदिदा, यी सोचहरु बाहिरनै पलायन हुनेछन् । एक जना व्यक्ति वा संस्थालाई फरक नपर्ला तर विकासको बाटोमा बल्ल बामे सर्दै गरेको नेपाली अर्थतन्त्रमा के कस्तो फरक पर्न सक्छ जिम्मेवार व्यक्तिले विचार गर्नु पर्ने कुरा हो ।

”तिमी स्वार्थमा लत्पतिउ, म सेवाले पखालिदिन्छु
तिमी दुन्द चर्काउ, म शान्तिको दिप बनिदिन्छु
म जल्नेछु तर खरानी तिमी हुन्छौ
चट्टान बन तिमी म छाल बनेर टुक्राइदिन्छु
शोषण गर तिमी, म चेतना फैलाइदिन्छु
अँध्यारो बनाऊ समाज, म उर्जा उर्जाले भरिदिन्छु
गरिबी बढाऊ तिमी, म उद्धयमशिलता बहाइदिन्छु
म, म रहन्न तत्पश्चात
म, म बाट हामी हुनेछु
हामी बनाउछौँ हाम्रो राष्ट्र
हामी हौँ सच्चा नेपाली !!!”
यि हरफहरु मैले नै कोरेकी हूँ, तर आज सिएको पढाई सकिनै लाग्दा नेपाल फर्किने सोचले नेपालमा भएका सिए फर्महरुमा बुझ्दै गर्दा चित्त बुझ्दो अवसर नदेख्दा अनि सिए फर्ममा रि-आर्टिकलसिप नगरी साधारण सदस्यता पनि नपाउने अवस्था देख्दा आज अस्ट्रेलियाको भिसा प्रक्रियाको बारेमा बुझ्न बाध्य भएको छु । बरु आईसीएआईबाट सिए बनेर सिपिए बन्न सजिलो रैछ तर काठमाडौँमा सिए बन्न गाह्रो रहेछ । जतिनै राष्ट्रवादी भएपनि आइक्यानले पराई झैँ बनाइदिएपछि मैलेजस्तै विदेश जाने सोच यहाँ हजारौले बनाएका छन् । सम्बन्धित निकायको ध्यानाकर्षण होस् भन्ने चाहना सहित यो लेख लेख्न जरुरी ठानें ।
-जेलिना कंडेल
सिए फाईनल, आईसीएआई बोर्ड
नयाँ दिल्ली, भारत
प्रतिक्रिया दिनुहोस्