Skip to content

कार्वनयन हुन्छ वा सर्छ एक व्यक्ति एक पेसाको नीति ?

यहि साउन देखि कार्वनयन हुनु पर्ने एक व्यक्ति एक पेसाको नीति सार्नुपर्ने माग सहित आरएहरु लविङ्ग गरिरहेको बुझिएको छ भने केहि सिएहरु कुनै पनि हालतमा एक व्यक्ति एक पेसाको नीति सार्नुहुन्न भन्ने पक्षमा रहेको बुझिएको छ।  यसै बीच ‘के एक व्यक्ति एक पेसा को नीति कार्वनयन होला त?’ भन्ने बिषयमा बजारमा विभिन्नखाले बहसहरु हुन थालेका छन्।
केहि बर्षलाई सर्ने सम्भावना कायमै :
विभिन्न चरणमा कार्वनयन हुन लागेको एक व्यक्ति एक पेसा अन्तर्गत यसपालीदेखि  कार्वनयन हुनुपर्ने चरण सर्ने संकेत देखिएको छ।  सोमबार विभिन्न ठाउँमा बसेका अनौपचारिक बैठकहरुमा यसबारे छलफल भएको खबर आएको छ। भर्खरै अध्यक्ष पदमा एक मात्र उमेद्वारी परेका प्रकाश लम्शाल एक व्यक्ति एक पेसा सार्ने पक्षमा सकारात्मक भएपछि एक व्यक्ति एक पेसा सर्ने संकेत देखिएको स्रोतले बताएको छ। यसैबारे सामाजिक संजालमा हुन सक्ने बिरोधलाई मुख्य नजर गर्दै आईक्यानका हालका उपाध्यक्ष प्रकाश लम्शालले आफ्नो फेसबुक एकाउण्ट नै बन्द गरेको समेत विभिन्न सिएहरुले आरोप लगाउन थालेका छन्। यसअघि अच्युत राज जोशी र सुरेश देवकोटाले  एक व्यक्ति एक पेसा सार्ने कुरामा ‘नोट अफ डिसेन्ट’ लेख्दा समेत प्रकाश लम्साल लगायतका सिएहरु सार्नुपर्ने पक्षमा  बोलेका थिए।  अहिले त्यहि काउन्सिलको कार्यकाल रहेकाले पनि केहि सिए बाहेक अरु यो कुरामा सहमत हुन्छन्  भन्ने चर्चा बजारमा चल्न थालेको छ। यता केहि सिएहरुले भने एक व्यक्ति एक पेसा सार्ने सहमति नगरे अर्को अध्यक्षको उमेद्वार उठाउने चेतावनीपछि प्रकाश लम्सालले एक व्यक्ति एक पेसा सार्ने सहमति यस अघि नै गरिसकेको आरोप लाउन थालेका छन्।  
आफ्नै अडानमा छन् सुरेश देवकोटा र अच्युत राज जोशी : प्रकाश लम्साल लगायतका सिएहरुले एक व्यक्ति एक पेसा सार्नु पर्ने पक्षमा रहेको चर्चा चलिरहेका बेला अच्युत राज जोशी र सुरेश देवकोटा भने आ-आफ्नै अडानमा भएको बुझिएको छ।  यता टीएन आचार्य पनि एक व्यक्ति एक पेसा सार्नु नहुने पक्षमा रहेको बुझिएको छ।  एक व्यक्ति एक पेसा सार्ने निर्णय गरे त्यसको बिरोध गर्ने र केहि नलागे ‘नोट अफ डिसेन्ट’ लेख्ने तयारिमा  सुरेश देवकोटा , अच्युत राज जोशी, टि येन आचार्य लगायतका सिएहरु रहेको बुझिएको छ। 

अझै पनि सार्ने पक्षकै बहुमत: आइक्यानको काउन्सिलमा कुनै पनि निर्णय बहुमत भएको खण्डमा पास हुने प्रावधान छ।  एक व्यक्ति एक पेसा सार्ने पक्षमा पनि बहुमत हुने देखिएको छ।  चार आरए र ३ सरकारी प्रतिनिधि एक व्यक्ति एक पेसा सार्नु पर्ने पक्षमा उभिएका छन्। यता  सिए प्रकाश लम्शाल र  सिए महेश गुरागाईं  पनि एक व्यक्ति एक पेसाको नीति सार्ने पक्षमा सकारात्मक भएको भन्ने चर्चाले आइक्यानमा नीति सार्ने पक्ष मै बहुमत भएको चर्चा हुन थालेको छ।  बाँकी सिएहरुले जति नै बिरोध गरे पनि  एक व्यक्ति एक पेसाको नीति सर्ने बुझिएको छ।
नेतृत्वलाई चौतर्फी दवाव : अबको नेतृत्व प्रकाश लम्शालको हुने पक्कापक्कि भएपछि  उनलाई चौतर्फी दवाव आईरहेको बुझिएको छ।  आरएहरु एक व्यक्ति एक पेसाको नीति नसारे कार्यकालभरी असहयोग गर्ने चेतावानी दिइरहेका छन् भने यता एक व्यक्ति एक पेसा  सरेको खण्डमा त्यसको अपजस प्रकाश लम्साललाई नै जाने भएपछि उनी निकै नै तनावमा रहेको स्रोत बताउँछ। एक व्यक्ति एक पेसा सार्ने सहमति मै अर्को अध्यक्षको उमेद्वारी नपरेको आरोप लागिरहेका बेला त्यस आरोप चिर्न पनि गाह्रो भएको र नाचिरेको अवस्थामा आगामी दिनमा झन् गाह्रो हुने भएकाले के गर्ने र के नगर्ने भन्ने दुविधामा प्रकाश लम्शाल रहेको बुझिएको छ।  
के छ अरु पार्षदहरुको बिचार ? : चार आरए सरकारी प्रतिनिधि र प्रकाश लम्साल नीति सार्ने पक्षमा रहेको बुझिएको छ।  यता आईक्यानका हालका अध्यक्ष अन्तिम समयमा बिबादमा नआउन खोजेको बुझिएको छ।  मधुवीर पाण्डे, एजेन्डा माथि छलफल गर्ने तयार रहेको तर सबैले जित्ने तरिकाले अगाडि बढ्नु पर्ने मनसायमा रहेको बुझिएको छ। अच्युत राज जोशी, सुरेश देवकोटा, र टिएन आचार्य नीति सार्ने विपक्षमा रहेको बुझिएको छ। यता जितेन्द्र कुमार मिश्र, भास्कर लाला र निरन्जन सिंखडा कता लागेका छन् भन्ने बारे भने बजारमा आ- आफ्नै तर्कहरु हुन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्