मूअकर ऐन २०५२ को दफा १९ (१) अनुसार मात्र होइन, आयकर ऐन–२०५८, अन्तःशुल्क ऐन–२०५८ र मूल्य अभिवृद्धि कर ऐन–२०५२ अन्य दफाहरूका आधारमा तिर्नुपर्ने रकम, शुल्क, ब्याज, जरिवाना तथा विवरणहरू पनि बुझाउनुपर्ने म्यादको अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछिको कार्यालय खुल्ने दिनमा बुझाउन सकिन्छ ।
नेपालमा मूल्य अभिवृद्धि कर (मूअकर÷भ्याट) लागू भएको लामो समय बितिसकेको छ, तर यससम्बन्धी दुविधा अझै पनि कायमै छन् । कर अधिकारीहरूको स्ववेकीय कर कानुन व्याख्या गर्न पाउने अधिकारले गर्दासमेत धेरै करदाताले असार मसान्तमा ठूलो सास्ती झेल्ने गरेका छन् । करदाताहरूलाई कर बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परे के गर्ने भन्ने विषयमा अझै प्रस्ट पार्न सकिएको छैन । प्रायःजसो कर अधिकारीहरूले आफूलाई तोकिएको कर लक्ष्य पूरा भएको देखाउनका लागि पनि अन्तिम दिनभन्दा अगावैको म्यादलाई व्याख्या गर्ने गरेका छन् । यो समस्या आयकर, अन्तःशुल्कका साथै मालपोत, सवारी कर, बहाल करजस्ता अन्य कर तथा विद्युत्, टेलिफोनजस्ता महसुलमा समेत देखिएको भए पनि यहाँ भ्याटका सम्बन्धमा देखा परेको द्विविधाबारे चर्चा गरिएको छ ।
मूल्य अभिवृद्धि कर ऐन–२०५२ को दफा १९ ः करको भुक्तानी, उपदफा (१) : करदाताले प्रत्येक कर अवधिको कर सो अवधि समाप्त भएको मितिले २५ दिनभित्र बुझाउनुपर्नेछ । यो उल्लिखित दफाबारे चार्टर्ड एकाउन्ट शिक्षा लिइरहेका विद्यार्थी वा चार्टर्ड एकाउन्टेन्टहरू सायदै अनभिज्ञ होलान् । तर, सो अवधिको अन्तिम दिन सार्वजनिक बिदा भएमा के गर्ने भन्ने कुरामा एकमत हुन नसकेको देखिन्छ । कोही सो २५ दिनको अवधि दिएको र सोको अन्तिम दिन सार्वजनिक बिदा हो भन्ने पहिले नै थाहा भएको अवस्थामा बिदाअगावै र अकस्मात् बिदा परेमा भने बिदापछि बुझाउन सकिने कुरा बताउँछन् भने कोही जुनसुकै अवस्थामा पनि बिदापछि कार्यालय खुल्ने दिनमा भुक्तानी दिन सकिने कुरा बताउँछन् । “अकस्मात् बिदा परोस् वा पहिले नै थाहा होस्, अगाडि नै बुझएको छ भने बचियो, पछि भए फसियो, अब जरिवाना शुल्क बुझाउनै लेखेको कारणले अकस्मात बिदा प¥यो भने त कसको के लाग्छ र ?” भन्नेहरूको पनि ताँती नै भेटिन्छ । अलग्गै ऐनमा यो कुराबारे लेखेको पाइएकाले पनि फरक मत पर्न गएको बुझ्न सकिन्छ ।
कतिपय करदाता तोकिएकै दिन कर अवधि समाप्त हुने वा नहुने भन्ने कुरा कर अधिकृतकोे मुडका आधारमा फरक पर्ने बताउँछन् । कर अधिकृतहरूमा अन्योल भए पनि अधिकांश कर अधिकृत बिदाअगाडिको दिनलाई जोड दिन्छन् । यसो गर्दा कर अवधि समाप्त भएको कारणले गर्दा लाग्ने सम्पूर्ण ब्याज, जरिवाना तथा अन्य शुल्कबाट बचिने र पछि हुने झमेलाबाट मुक्त भइने हुनाले बिदाअगाडिको दिनलाई नै अन्तिम मानेर अगाडि बढ्ने तर्क दिन्छन् कर अधिकृतहरू ।
आइक्यान सदस्य तथा चार्टर्ड एकाउन्टेसी अध्ययन गरिरहेका विद्यार्थीहरूसँग गरिएको एक सर्भेक्षणअनुसार बिदाअगावै बुझाउनुपर्छ भन्नेहरू ४७ प्रतिशत र उत्तिकै संख्यामा बिदापछि बुझाउनुपर्छ भन्नेहरू पाइयो भने थाहा छैन भन्नेहरू ६ प्रतिशत रहे । बिदापछि भन्नेहरूमध्ये एक जनाले मात्र कानुनको आधारमा तर्क प्रस्तुत गरेको पाइयो भने अन्यले चलनचल्तीअनुसार भन्ने आधार प्रस्तुत गरेको पाइयो । धेरैजसोको जोड भने बिदाअगावै तिर्नुपर्छ वा तिर्दा राम्रो भन्नेमा थियो । बेकारमा पछि झमेला नहोला भन्ने स्थिति नभएकाले आफू बाँच्न सजिलो हुने हिसाबले अधिकांशको जोड अघिल्लो दिनसम्ममा तिर्दा राम्रो हुन्छ भन्ने छ ।
उल्लिखित विषयबारे खोज्दै जाँदा विषय–विषयमा छुट्टाछुट्टै बनेका कानुनमा लेखिएजतिमा सोही कानुनबमोजिम र सो कानुनमा नलेखिएकोमा मुलुकी ऐनबमोजिम हुने हुनाले (मुलुकी ऐन–२०२० भाग १ प्रारम्भिक कथनको ४ नं. अनुसार) मुलुकी ऐनका महलहरू पल्टाउँदै जाँदा भाग २ महल १ अदालती बन्दोबस्तको ४५ नं. मा नवौं संशोधनद्वारा संशोधित भएपछि यस्तो लेखेको पाइयो, “हदम्याद पुग्ने वा म्याद तारेखमा हाजिर हुनुपर्ने वा कुनै कागज दाखिल गर्नुपर्ने दिन अड्डाको तातेल परे त्यसपछि अड्डा खुलेको पहिलो दिनमा हाजिर हुने दाखिल गर्नेको हदम्याद वा म्याद तारेख गुज्रन सक्दैन ।” मूअकर ऐनमा कर अवधि समाप्त हुने दिन सार्वजनिक बिदा परेमा के हुने प्रस्ट नभएकाले मुलुकी ऐनको यसै व्यवस्था आकर्षित भएको मान्न सकिन्छ ।
कानुनी शब्दहरू तथा शब्द समूहहरूको प्रामाणिक परिभाषा हुनु उचित देखिएकाले तत्कालीन राजाबाट आफ्नो राजकीय शक्ति र शाही विशेषाधिकारको प्रयोग गरी बनाइएको ऐन हो— नेपाल कानुन व्याख्यासम्बन्धी ऐन । केही नेपाल ऐन संशोधन गर्ने ऐन– २०५३ द्वारा संशोधित ‘नेपाल कानुन व्याख्या सम्बन्धी ऐन’ को दफा ९. समयको गणना समयको गणनामा “कुनै नेपाल ऐनमा कुनै काम वा कारबाही कुनै अड्डा वा अदालतलाई यो मितिमा वा यति म्यादभित्र गर्नु भनी तोकिएको वा हेर्न वा गर्न इजाजत दिइएको रहेछ र त्यो मिति वा त्यस्तो म्यादको आखिरी दिनमा अड्डा वा अदालत तातेल भएमा त्यस्तो काम वा कारबाही तातेलपछि अड्डा वा अदालत खुलेको पहिलो दिन भएको रहेछ भने म्यादभित्रै भएको ठहर्छ,” भनी लेखिएको छ ।
यी दुई ऐनका दफा तथा महलहरूलाई समात्ने हो भने मूअकर ऐन २०५२ को दफा १९ (१) अनुसार मात्र होइन, आयकर ऐन–२०५८, अन्तःशुल्क ऐन–२०५८ र मूल्य अभिवृद्धि कर ऐन–२०५२ अन्य दफाहरूको आधारमा तिर्नुपर्ने रकम, शुल्क, ब्याज, जरिवाना तथा विवरणहरू पनि बुझाउनुपर्ने म्यादको अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछिको कार्यालय खुल्ने दिनमा बुझाउन सकिन्छ ।
यस विषयमा मतभिन्नता भएकै कारणले गर्दा मिति २०५४।११।२० मा च.नं.–३०६८ बाट आन्तरिक राजस्व विभागले सार्वजनिक परिपत्रसमेत जारी गरेको छ, उक्त पत्रअनुसार “मूल्य अभिवृद्धि कर ऐनको दफा १८ र १९ मा व्यवस्था भएअनुसार कुनै दर्ता भएको करदाताले आफूले गरेको महिना भरिको कारोबारको कर विवरण र करको भुक्तानी सो महिना समाप्त भएको २५ दिनभित्र पेस गर्नु वा बुझाउनुपर्नेमा कुनै महिनाको पच्चीसौं दिन वा लगातार २–३ दिन सार्वजनिक बिदा पर्न गएमा त्यस्तो बिदा समाप्त भएको भोलिपल्टलाई ‘ड्युडेट’ मान्न मिल्ने कि नमिल्ने भन्ने सम्बन्धमा द्विविधा परेको बुझिएकाले त्यस्तो सार्वजनिक बिदा परेको भोलिपल्ट स्वतः ‘ड्युडेट’ मान्ने बेहोरा आदेशानुसार अनुरोध गरिएको छ,” भनिएको छ ।
यसरी सार्वजनिक बिदा परेको भोलिपल्ट नै कर वा विवरण बुझाउने अन्तिम दिन मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्