
अघिल्लो लेखमा नेपालका मधेशी साथीहरूको प्रतिप्रश्नमा मेरो प्रतिक्रिया। यसो भन्दै गर्दा म आफ्नै दाजुभाईको दु:ख कुल्चेर भाग्ने कोसिश गरेको नबुझियोस। समानताको लागि हुने आंदोलन एउटा सिमित समुदायको लागि मात्र नभएर हामी सबैको लागि हो। कान्तिपुरका पङ्तिकार बसन्तजीले भनेजस्तै असफल राजनीति र कुटनीति सञ्चालनको यो तरिका अब बदलिनै पर्छ। तर दिल्लीको आडमा काठमाडौंलाई खुच्चिङ गर्ने नयाँ क्रान्तिकारीहरुले बुझ्नैपर्छ।राष्ट्रियताको आन्तरिक र बाह्य व्याख्या अलग अलग हुन्छ।
मधेश आंदोलनमा लाग्नूभएका साथीहरूले के चाही बुझ्न जरुरी छ भने विभेद हरेक जात र समाजमा छ, आफ्नै घरभित्र छ, दाई भाईमा छ, सासु बुहारीमा छ, अझ बढि त तराई भेगमा छ। साथी साथीमा छ, धनि र गरिबमा छ, कतिपय परिवेशमा स्वतस्फूर्त छ, जुन चाहेर पनि पन्छाउन हामी असमर्थ छौ। अनि ति कुरामा हाम्रो आचरण, चेतनास्तर, विवेक र परिपक्वता र सद्भाव बाहेक अरू कुनै किसिमको शस्त्रले परिवर्तन सम्भव छैन। आरक्षणमा जोड दिदै गर्दा दलित, मधेशी, जनजाति समुहबाट जागीरमा या राज्य संचालनमा त हामी पुगौला, तर हाम्रो भावी सन्ततिको लागि बिभेदको बिऊ हामी आफै रोप्दै गरेका छौ त्यसबाट जुन हामी स्विकार्न तयार छैनौ।
अनि अर्को कुरा तपाईहरुले ती आंदोलनको अगुवा गरीरहेका नेतामाथि विश्वास गर्ने आधार के छ? सबैलाई अवगत छ, केहि वर्ष अघिमात्रै मंत्री भएर सिंहदरबार छिरेका यिनै मनुवा होइनन? त्यो बेला तपाइहरूसंग गरीएका हरेक सहमति र त्यसका बुदा हरू कार्यान्वयनमा यिनको ध्यान नजाने, अहिले बाह्य (भारतको) खुफिया एजेन्सीले साथ दियो भन्दैमा उफ्रिने? धम्क्याउने? संबिधान बनाउन तपाइ हामिले नै चुनेर पठाएको होइन? जहॉ उनिहरू माग सम्बोधन गराउन सक्ने क्षमतामा थिए, डाडु, पनिऊ पनि उनकै हातमा थियो, त्यतिखेर यिनैले वेवास्ता गरेका होइनन तपाइहामीलाई? त्यहॉ चाही मधेशि, उत्पिडित आवाज नसुन्ने ती नेताले अहिले कसरी भ्रम छरेका छन, त्यो म भन्दा तपाइहरू बढी अवगत हुनूहुन्छ। यतिका नागरिक लाई दुख दिएर यिनको जमिन्दार बन्ने सपना उचित लाग्यो? अस्ति भर्खर होइन चुनाव भको? समानुपातिक मनोनयनबाट सबै क्षेत्र र जातीको समान प्रतिनिधि त लगेकै हो नि संबिधान बनाउन, ८ वर्ष लगाए, बल्ल बल्ल यिनको नाटक सकिएको छ, अब कम्तिमा संबिधान ‘आज’, ‘भोली’ ‘फलानो महीनाको फलानो गते’ भनेर सुन्नू त पर्दैन। सम्सोधनको प्राबधान छ, समयानुकुल परिमार्जन गर्दै जाऊला। करिब दुई दशक लामो समय अस्थिर बनेको नेपाली राजनीतिलाई केहि हदसम्म स्थिर हुने अवसर दिऊ। ‘रिस ले आफू खा, बुद्धिले अरुलाई खा’ भन्ने उक्ति त भनिराख्नु पर्दैन। हरेक नागरिकका हरेक कुरा संबिधानमै लेखिने भए त्यो देशको कानून नभएर ‘बायो डाटा कलेक्शन डाटाबेस सेन्टर’ हुनूपर्ने जसमा आफ्नो रुचि, चाहना ईत्यादि समावेश होस। यो त कलेक्टिव फर्म हो, राज्य सञ्चालनको ‘Code of conduct’ हो।
देश र समाजको उन्नति र विकासमा जति उत्तरदायि राज्य हुन्छ, त्यो भन्दा बढी भूमिका हामी नागरिकको हुन्छ। नियम कानुन भनेका समाउने डोरि हुन, गन्तव्य होइनन। मैले भने नि, क्षणिक आवश्यकता पूर्ति समस्याको समाधान कदापि होइन। समानुतिक र समावेशि प्रतिनिधित्व हुदैमा नागरिकको जिवनस्तर माथि उठ्ने ग्यारेन्टि के छ? जबकि हामी आफ्नो स्वाधीनता कायम गर्न चुकिरहेको छौ भने राज्यलाई दोष दिनूको अर्थ देख्दिन म। म आफूलाई आत्मनिर्भर बन्न सघाउने एकजना मात्रै छ, त्यो म नै हो।
म कुनै जाति समुदाय बिशेषको बिरोधि होइन, म सचेतक मात्र हो, आफ्नो कर्तव्यप्रति निश्ठावान। जनतालाई राज्यप्रति उत्तरदायि महसुस गराउनु हरेक सचेत नागरिकको दायित्व हुन्छ। आउनुहोस, अंकमाल गरौ, छोडिदिऊ हत्या-हिंसाको खेल, बहस गरौ न। तराईबाट बुद्धिजिविहरूको टीम तयार गर्नूहोस, भ्रष्ट नेताको होइन। अनि बार्ताको लागि बस्नूहोस। दिर्घकालीन निकाश निकालौला। डर धम्किको राजनीति भन्दा अलग स्वच्छ राजनीति पनि छ, त्यसलाई चाहि हामी जनमैत्री राज्य-संचालन को कढी मान्न तयार हुनू जरुरी छ।नेपालको मधेशवासी प्रिय साथीहरू जसले मलाई सम्बोधित गर्दै अधिकार सुनिस्चितको लागि र समानताको लागि गरीएको आंदोलन हो, तिमि बुझ्दैनौ भन्नूभो, साच्चि भन्ने हो भने तपाई अनि म समय मिलेमा संगै बसेर कुरा गरौला, मेरो र मैले भोगेको देखेका नेपालस्थित हरेक भूगोलका असमानता र गरिबिका पिडा सुनेर भक्कानिनुहुनेछ। जसरी तपाई राज्य सञ्चालन पद्धतिसंग असन्तुस्ट हुनूहुन्छ, म पनि छु। तर के ४०-५० जना हाम्रो आफन्त, दाजुभाईले ज्यान गुमाउदैमा कायापलट हुने हो त? तपाई हामी शिक्षित छौ, जो नेपालको उन्नतिप्रति आशातित अनि उत्साहित छौ, जागरूक छौ, समाजले हामीबाट यो भन्दा धेरैनै बढी आशा राखेको छ, हाम्रो भूमिका बल्ल सुरू छ। समाजको चेतनास्तर उकास्न हाम्रोजति भूमिका सयाद अरुको नाहोला। के माग राख्ने दरिलो उपाय हड्ताल, बन्द, आगजनि, हत्या आदिमात्रै हुन? गांधीले अहिंसाबादी आंदोलन गरेरै भारत स्वतंत्र बनाएका थिएनन र? वार्ता, विचार-विमर्श गरेर चाहि हामी निच भैहाल्ने, नाकाबन्दी गरेर, कलिला बाल-बालिका अध्ययन गर्ने स्कूल बन्द गरेर, उद्योग कल कारखाना बन्द गरेर देशको अर्थतंत्र ठप्प पार्दैमा उच्च मानिने हो? ठिक छ, अहिले त अस्थायी नाकाबन्दि हो रे, लामो समयसम्म नेपाल आफैले सबै चिज ब्यबस्थापन गर्नुपर्दा सिंहदरबारलाई दोषी देखाएर मात्र त हाम्रो गास टारीदैन नि होइन? हाम्रो लागि मेहनत गर्ने हामी आफै हो। जय नेपाल!!!
तीर्थराज अर्याल
हाल नया दिल्ली
प्रतिक्रिया दिनुहोस्