Skip to content

एक व्यक्ति एक पेशा २०८० सालसम्म सार्न माग

जनकपुर, १२ असार।
नेपाल अडिटर्स एशोसिएशन (अडान) का केन्द्रीय उपाध्यक्ष कृृष्ण पौडेलले लेखापरीक्षण गर्नुपर्ने निकायहरुको संख्याको तुलनामा लेखापरीक्षक जनशक्ति पर्याप्त नभएकोले तत्काल एक व्यक्ति एक पेशा नीति लागु हुन नसक्ने भएकोले केही समय पर सार्न मांग गरेका छन्  । आज जनकपुरमा लेखापरीक्षकहरुको क्षमता अभिवृद्धिसम्वन्धी क्षेत्रीय स्तरको दुई दिने तालीममा सम्वोधन गर्दै उनले  उक्त कुरा बताएका हुन् । अहिले आंशिक रुपमा यो नीति लागु गर्दा स्थानीय तहमा योग्यतम लेखापरीक्षक जनशक्ति उपलव्ध हुन नसकेको बताउँदै २०७२ श्रावण देखि लागु गर्न खोजिएको उक्त नीतिलाई २०८० सम्म सार्न पौडेलले मांग गरे। आइक्यानको पांचौं काउन्सिल सदस्यसमेत रहेका पौडेलले लेखाव्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आइक्यान) यो विषयमा गम्भिर हुनुपर्ने र सबै लेखापरीक्षकहरुको क्षमता अभिवृद्धि र गरिमा वृद्धिमा गम्भिर हुन पौडेलले आग्रह गर्दै आइक्यानको सातौं काउन्सिलमा अडानका चारै जनाको जीतले संगठनको सर्वोच्चता स्थापित गरेको बताए।  साथै  पौडेलले सबै लेखापरीक्षकहरुलाई अडानमा आवद्ध हुन आग्रह समेत गरेका छन् ।

कार्यक्रममा बोल्दै अडानका उपमहासचिव एवम् आइक्यानका पार्षद बद्रि भट्टराईले लेखापरीक्षण पेशा फराकिलो र चुनौतिपूर्ण हुदै गएकोले यसप्रति गम्भिर भएर जिम्मेवारी बहन गर्न आग्रह गरे । व्यवस्थापन र अरुको दोष पनि लेखापरीक्षकहरुमाथि थोपर्ने प्रवृति बढिरहेको बताउँदै भट्टराईले पेशागत आचरण, आचारसंहिता र मानहरुलाई पालना गरेर लेखापरीक्षण अभ्यास गर्न जोड दिएका छन् ।

कार्यक्रममा अडानका केन्द्रीय सदस्य उग्रकान्त झा, डिभिजन सहकारी कार्यालय धनुषाका प्रमुख रविन्द्र यादव, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष ध्रुवनारायण यादव, अडान सर्लाही अध्यक्ष रामलक्ष्मण राय, महोत्तरीका अध्यक्ष सुरेश लाल, उदयपुरका अध्यक्ष रत्नप्रसाद निरौला, सिराहाका उपाध्यक्ष लालबहादुर यादवलगायतले बोलेका थिए  ।

अडान धनुषाका अध्यक्ष शोभाकान्त झाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण उपाध्यक्ष अमरनाथ साहले गरेका थिए । तालीममा धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, सिराहा र उदयपुरलगायत जिल्लाका साठी जनाको सहभागिता रहेको थियो । तालीमका सहभागीहरुलाई प्रमुख अतिथि अडान उपाध्यक्ष कृष्ण पौडेल, विशिष्ट अतिथि बद्रि भट्टराई र अडान धनुषा अध्यक्ष शोभाकान्त झालगायतले प्रमाणपत्र वितरण गरेका थिए । रजिष्टर्ड अडिटरहरुको क्षमताअभिवृद्धिका लागि आइक्यानले देशव्यापी रुपमा तालिम आयोजना गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्